निर्माणधीन लिपिङखोला हाईड्रोपावर स्थानीय अवरोधका कारण दुईसाता देखी बन्द

स्थानीय भन्छन्–‘हाईड्रोपावरले प्रभावितहरुको कुनै माग पुरा गरेन’

कार्तिक ३०, तातोपानी । तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावर स्थानीय अवरोधका कारण दुईसाता देखि काम ठप्प भएको छ । हाईड्रोपावरले स्थानीय प्रभावितहरुसंग सम्झौता गरे अनुसार कुनै पनि शर्त पुरा नगरेपछि स्थानीय युवाहरुले निर्माणको काम नै ठप्प पारेको उनीहरुको भनाई छ ।

कोदारीका स्थानीय गोरे गुरुङका अनुसार हाईड्रोपावरले पूर्व शर्त अनुसार स्थानीयलाई काम दिनुभन्दा पनि बाहिरको मानिसलाई मात्रै दिएको छ । दिएपनि दैनिक एकहजार दिनुपर्नेमा ८ सय मात्र दिएको छ । उनका अनुसार गाउँपालिको रेट दक्ष कामदारको एकहजार छ भने ज्यामीको ९ सय तोकेको छ ।

त्यस्तै तातोपानीका स्थानीय पदम श्रेष्ठका अनुसार लिपिङखोला हाईड्रोपावरले जनतालाई कुनै सुविधा दिएको छैन । हाईड्रोपावरले २०७४ सालको फागुनमा सार्वजनिक सुनुवाई गरेपनि स्थानीयलाई कुनै जानकारी नदिएको उनको दावी छ । अहिले हाईड्रो निर्माणको काम अन्तिम चरणमा पुगीसक्दा समेत जनताको माग र प्रतिवद्वता कुनै पुरा नगरेपछि प्रभावितहरु वाध्य भएर काम नै ठप्प पार्ने अवस्थामा पुगेको उनले बताए । श्रेष्ठका अनुसार कार्तिक १९ गते त्याहाँका स्थानीयहरुले आफ्ना माग पुरा गराउन भन्दै काममा रोक लगाएका थिए ।

हाईड्रोपावरले राष्ट्रिय निकञ्जसंग सम्झौता गरेर केही प्रावधानहरु पुरा गरेपनि कुनै कार्यान्यन नगरेको तातोपानीका स्थानीय कर्मा शेर्पाले बताए । त्यस्तै सामाजिक उत्तर दायित्व भनेर भोटेकोशी गाउँपालिका २ नम्बर वडासंग ०.५ प्रतिशत काम हुनेगरी सरोकार समितिले सम्झौता गरेपनि उक्त रकम आजसम्म काहाँ खर्च भयो भनेर कतै नदेखिएको कर्माको भनाई छ । सरोकार समितिका अध्यक्ष साङगे शेर्पा रहेका छन् ।

हाईड्रोपावर निर्माणको सुरुवातमा लिपिङखोला हाईड्रोपावरका अध्यक्ष रामकाजी पौडेल भएपनि त्यसपछि रमेश शेर्पा हुँदै हाल सरल सहयात्री पौडेल भएका छन् । उनी प्रतिनिधि क्षेत्र नम्बर १ (ख) का सांसद हुन् । हाईड्रो निर्माण सम्पन्नको चरणमा अध्यक्ष भएका पौडेलले समेत स्थानीय सरोकार समितिले राखेको माग प्रति कुनै चासो नदिएको स्थानीयको आरोप छ ।
हाल वर्तमान अध्यक्ष रहेका बागमति प्रदेश सासंद एवम लिपिङखोला हाईड्रोपावर सञ्चालक समितिका अध्यक्ष सरल सहयात्री सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।

तीन अर्ब १२ करोड आठ लाख रुपैयाँ लागतमा बन्ने आयोजना ३ वर्ष भित्र सक्ने लक्ष्य राखिएको भएपनि निर्माण सम्पन्न हुँदा ३ वर्ष कटेर थप ३ वर्ष लाग्ने देखिन्छ ।

आयोजना निर्माण गरिरहेको हिमरिभर पावर प्रालि र एनएमबी बैंकबीच ऋण सम्झौता भएर काम सुरु भएको हो । सम्झौताअनुसार आयोजना निर्माण कुल लागतको ७५ प्रतिशत रकम बैंकले ऋण दिने सम्झौता पत्रमा उल्लेख छ । त्यस्तै बैंकले दुई अर्ब २६ करोड ४६ लाख रुपैयाँ ऋण उपलब्ध गराउने सहमति भएको थियो ।

आयोजनाको बाँकी २५ प्रतिशत लगानी संस्थापक प्रवर्द्धकबाट जुटाइने उल्लेख छ । हिमरिभरमा २१ जना संस्थापक प्रवर्द्धक छन् ।
तातोपानीको लिपिङ बजारबाट तीन सय मिटरमाथि आयोजना निर्माणको चरणमा छ । आयोजनाको उत्पादन गृहसम्म पुग्ने पहुँचमार्ग बिस्तारको काम सकेर उत्पादन गृहबाट बाँधस्थलसम्म पुग्न रोपवे निर्माणको काम समेत सम्पन्न गरिसकेको छ । ओयोजना निर्माणको क्रममा खपत हुने उर्जा जुटाउन आयोजनास्थलमै ६ सय किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि लघु आयोजनाबाट उत्पादित उर्जा छुट्टै विद्युत खरिद सम्झौता (पिपिए) गरी विद्युत प्राधिकरणलाई बेचिने आयोजनाको लक्ष्य छ । उत्पादन गृहदेखि बाँधस्थलसम्मको दुरी दुई हजार ६ सय मिटर रहेको हिमरिभर पावरले जनाएको छ । उसका अनुसार बाँधदेखि एक हजार चार सय मिटर सुरुङ र एक हजार दुई सय मिटर पेनस्टक पाइपमार्फत लिपिङ खोलाको पानी उत्पादन गृहमा खसालिने आयोजनाको हेड सात सय ९२ हुनेछ ।

उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न आयोजना आफैँले लिपिङदेखि चाकुसम्म १४ किलोमिटर लामो ट्रान्समिसनलाई बनाईसकेको छ । त्यहाँदेखि लामो साँघुसम्म शिवश्री हाइड्रोपावर प्रालिको २२ किमी लामो ट्रान्समिसनलाइन हिमरिवरले प्रयोग गर्ने समझदारी बनेको छ । लामो साँघुमा प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्र र राजधानीसम्म पुग्ने राष्ट्रिय प्रसारणलाइन छ ।

हिमरिभरपावर र प्राधिकरणबीच तीन वर्षअघि नै विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो । सम्झौताअनुसार प्राधिकरणले प्रतियुनिट विद्युत हिउँदमा आठ रुपैयाँ ४० र बर्खामा चार रुपैयाँ ८० पैसामा किन्ने छ । प्राधिकरणबाट दुई वर्षअघि उत्पादन अनुमति पाएपछि हिमरिभरले आयोजनाको प्रारम्भिक काम अघि बढाएको थियो ।