जुगल गाउँपालिकाद्वारा सिन्दुर्चेमा जुगल भ्यू पोईन्ट निर्माणको थालनी
कार्तिक २५, चनौटे (सिन्धुपाल्चोक) । जिल्लाको जुगल गाउँपालिकाले वडा नम्बर २ सिन्दुर्चेमा धार्मिक महत्व बोकेको जुगल भ्यु प्वाइन्ट (गेगाङ) निर्माणको थालनी गरेको छ । उक्त भ्यू पोइन्टको बिहिबार सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुवोध’ ले शिल्यान्यास गरेका हुन् ।
जुगल गाउँपालिका र हामी नेपाली ग्लोबलको संयुक्त लगानीमा पर्यटन हबको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले निर्माण थालिएको उक्त भ्यू पोईन्ट शिल्यन्यास कार्यक्रममा लामा गुरूबाट जग पूजा सम्पन्न गरी सांसद सापकोटा, जुगल गाउँ पालिका अध्यक्ष रेशम स्याङबो, हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामा, हामी नेपाली ग्लोबल युएईका अध्यक्ष दिल लामा, कोरिय, अमेरिका प्रतिनिधीहरू र वडा नं २ का अध्यक्ष लगायत स्थानीय बुध्दिजिवी, पत्रकार एवं समाज सेवीहरू उपस्थितिमा शिलान्यास गरिएको हो ।
जुगल गाउँपालिका वडा नम्बर २ मा बन्ने उक्त भ्यू पोइन्टलाई भविष्यमा पर्यटन हबको रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए ।
उनका अनुसार उक्त ठाउँ सङ्गै एउटा गुफा रहेको र त्यो गुफाको बीचमा एउटा प्वाल रहेको छ । पहिले पहिले गाउँमा लामो समय पानी नपरे त्यो प्वालबाट ढुंगा खसाल्ने र त्यो ढुङ्गा निकै तल गएर आवाज आएपछि पानी पर्ने किम्बदन्ती रहेको छ ।
स्मरण रहोस जुगलको वडा नम्बर २ मा रहेको सिन्दुर्चे समुन्द्री सतहबाट लगभग ३००० मिटर उचाईमा रहेको अग्लो स्थान हो । जाडो महिनामा हिउँ छपक्कै पर्ने सिन्दुर्चे जिल्ला सदरमुकाम चौताराबाट करिब २५ किमी मात्र टाढा रहेको छ । उक्त भ्यू पोईन्ट निर्माण भएसंगै राजधानी नजिक रहेको सिन्धुपाल्चोकमा पर्यटकको ओईरो लाग्ने अनुमान छ । बहुबर्षीय योजनाको रुपमा रहेको भ्यू पोइन्टको लागत भने खुलाईएको छैन् ।