सिन्धुपाल्चोकका दुई स्थानीय तहद्वारा सबैभन्दा बढी भूकम्प पिडितलाई सहयोग

कार्तिक २४, चौतारा । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सिन्धुपाल्चोकका स्थानीय तहहरुले सहयोग गर्ने क्रम जारी छ । अहिले सम्म सिन्धुपाल्चोकका ७ स्थानीय तहहरुले भूकम्प प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । जसमा सबैभन्दा बढी मेलम्ची नगरपालिकाले २० लाख र चौतारा साँगाचोकगढी नगरपालिकाले १७ लाख सहयोग गर्ने घोषणा गरेका छन् । अन्य स्थानीय तहहरुले सहयोग गर्ने घोषणा गरेको केही पछि दुई नगरपालिकाले घोषणा गरेका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार रु १७ लाख रुपैयाँ भूकम्प पिडितलाई दिने चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ ।

केन्द्रीय राहत कोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा हुनेगरी चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाले आर्थिक सहयोग घोषणा गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बताए । त्यस्तै मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङले सबै स्थानीय तहहरुको थोरै थोरै सहयोगले पनि पीडितहरुको लागि ठूलो सहयोग पुग्ने तथा केन्द्रीय सरकारलाई कम भार पर्ने बताए ।

यस अघि बाह्रबिसे नगरपालिका लगाएत ५ स्थानीय तहहरुले सहयोग गर्ने घोषणा गरिसकेका छन् । जसमा बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैयाँ, बलेफी गाउँपालिकाले ५ लाख र जुगल गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो ।