
मेलम्ची नगरपालिकाद्वारा जथाभावी जमिन उत्खनन गर्न कडाई

दिनेश दुलाल
कार्तिक २१, मेलम्ची । जिल्लाको मेलम्ची नगरपालिकाले आफ्नो नगरभित्र जथाभावी जमिन उत्खनन् गर्न कडाई गरेको छ ।
नगर प्रमुख आइतमान तामाङले नगर भित्र व्यक्तिको स्वामित्वमा रहेका जग्गामा समेत ढुंगा लगायतका सामाग्री उत्खनन् गर्दा कानुनी दायरामा आउन पर्ने भन्दै जथाभावी उत्खनन् नगर्न स्थानीय व्वसायीलाई निर्देशन दिएको मेलम्ची नगर प्रमुख सचिवालयले जनाएको छ ।
नगरप्रमुख तामाङ सहित उपप्रमुख उमा प्रधान लगाएतले सोमबार मध्य पहाडी लोकमार्ग आसपास अनुगमन गरिएको हो । सडक निर्माणकार्यको प्रयोजनका लागि आफ्नै जग्गामा ढुंगा उत्खनन गर्ने स्थानीयलाई नगरप्रमुख तामाङले कानुन बमोजिमका प्रकृया पूरा गरेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको नगर प्रमुख सचिवालय सदस्य मानकाजी पाख्रिनले जनाकारी दिए । जथाभावी उत्खनन गर्दा भूक्षय तथा प्राकृतिक प्रकोप निम्तने भन्दै व्यक्तिले समेत उत्खननमा सावधानी अपनाउन तथा कानुनी दायरामा आएर मात्र काम गर्न नगरले कडाई गरेको हो ।
अनुगमनमा प्रमुख तामाङ सहित उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाअध्यक्षहरु राजु रायमाझी, गणेश बहादुर तामाङ, संजीव तामाङ, कुमार बन्जरा, प्राविधिक तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।