सिन्धुपाल्चोकका ५ वटा स्थानीय तहले भूकम्प पिडितलाई सहयोग गर्ने
१९ कात्तिक, (सिन्धुपाल्चोक) । ठूलो जनधनको क्षति हुनेगरी १७ गते राती जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा भएको क्षतिमा सिन्धुपाल्चोकका ५ वटा स्थानीय तहले भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेका छन ।
जिल्लाको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले रु १० लाख रुपैयाँ, बलेफी गाउँपालिकाले ५ लाख र जुगल गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् ।
प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउन आफ्नो नगरपालिका निर्णय गरेको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए । पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्जज बोहोराले जानकारी दिए ।
यसैगरी जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने फेसबुकमा लेखेका छन् ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।