३ बर्ष पुग्दा समेत बन्न सकेन सुनकोशी–पिस्कर सडक, ठेकेदार भन्छन–‘तिहार लगत्तै काम हुन्छ’
दिनेश दुलाल
कार्तिक १५, पिस्कर । सिन्धुपाल्चोकको सहिदभूमि मानिएको पिस्कर जोड्ने सडक ३ वर्ष पुग्दा समेत बन्न सकेको छैन् । बाह्रबिसे नजिकै सुनकोशीबाट करिब १५ किलोमिटर पिस्करसम्म स्तरोन्नति तथा कालोपत्रे सुरु गर्ने भनेर ३ वर्ष अघि थालिएको काम अलपत्र अवस्थामा पुगेको छ । सडक ट्रयाक खुलेको डेढ दशकपछि २०७० सालमा बाह्रविसे–सुनकोसी–धुस्कुन–पिस्कर सडक पक्की बनाउने काम थालिएपनि अहिले सम्म पुरा हुन नसकेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्जव बोहोराले सिन्धुज्वालालाई बताए ।
‘हामीले पटक–पटक ठेकदारसंग सम्पर्क गरेर छिटो सक्न दवाव दिएका छौं तर काम हुन सकेन’, पालिका अध्यक्ष बोहोराले भने । सडक जिर्ण अवस्थामा रहेको कारण सार्वजनिक बस समेत सञ्चालन गर्न कठिनायी भएको वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजूको भनाई छ । ठेकेदारले बेलैमा काम नगर्दा जनस्तरबाटै दवाव सिर्जना गर्नुपर्ने अवस्था आएको ३ नम्बर वडा अध्यक्ष शिवबहादुर कार्की बताउँछन् । सडकका कारण एम्बुलेन्स समेत आउन गाह्रो भएको स्थानीय राजेन्द्र नेपालले बताए । ‘बर्षायाममा सवारी साधन त के मानिस नै आउजाउ गर्न मुश्किल हुन्छ’, धुस्कुनका स्थानीय पिताचन्द्र न्यौपाने बताउँछन् ।
बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई सिधा जोड्ने यो सडकको स्तरोन्नति बागमती प्रदेश सरकारको सहयोगमा थालिएको हो । गाउँपालिकाका अनुसार ३९ करोड ४० लाख रुपैयाँ लागत रहेको सडकको ठेक्का कान्छाराम कन्ट्रक्सनले पाएपनि पेटी ठेक्का भने सिन्धुपाल्चोकका राजेन्द्र लामाले लिएका हुन् । सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने गरी ठेक्का पाएको कन्ट्रक्सनले सम्झौता गरेअनुसार उसले दुई वर्ष ६ महिनामा सडकको काम सक्नु पर्ने थियो । सम्झौता अवधि अगावै दुई वर्ष एक महिनामा काम सके प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । सडक स्त्तरोन्नति अन्तर्गत चौडा बनाउने, नाला, कल्भर्ट, कजवेको व्यवस्था गर्दै कालोपत्रे गरिनुपर्ने अवधि सकिएर कन्ट्रक्सनले पुनः एक वर्ष म्याद थप गरेको छ । म्याद थपिएको अवधि सकिन ६ महिना मात्र बाँकी छ ।
उता सडकको पेटी ठेक्का जिम्मा लिएका राजेन्द्र लामाले भने असार अगवै सबै काम सक्ने ठोकुवा गरे । ‘अब हामी तिहार लगत्तै काम सुरु गरेर असार अगवै काम सम्पन्न गर्छौ’, पेटी ठकेदार राजेन्द्रले भने । बाढीपहिरो तथा सुनकोशी खोलामा पुल समयमै नबनेर बर्षायाममा सामान ढुवानी गर्न समस्या भएका कारण काम रोक्नु परेको उनले बताए ।
उनका अनुसार आस्फल प्रविधिबाट कालोपत्रेले गरिने भएको कारण काम छिटो सम्पन्न हुने उनको भनाई छ । नेपालमा अहिलेसम्मकै उन्नत् मानिएको यो आस्फल प्रविधिबाट गरिने कालोपत्रे सडक आठ मिटर फराकिलो हुनेछ,। उनका अनुसार अक्सफाल कंक्रिट ४० एमएम मोटाइएको हुने छ भने सडकमा रंगरोगन, ट्राफिक चिह्न र सुरक्षा संकेतको व्यवस्था गरिने छ । ग्रामीण बाटो भए पनि राजमार्गकै झल्को दिने गरी सडक बन्ने उनको भनाई छ ।
सहिदभूमि पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्र हो । २०४० माघ १ गते प्रजातान्त्रिक अन्दोलनको क्रममा भएको उक्त घटना मुलुकमा पिस्कर काण्डले चर्चित छ । गाउँपालिका केन्द्रबाट यो सडकले सात किमी दूरीमा छिमेकी लिसंखुपाखर गाउँपालिका र दोलखा जिल्लाको भीमेश्वर नगरपालिका जोडिने छ । यसले दोलखाको लागि बैकल्पिक मार्गको रुपमा समेत काम गर्ने बताईएको छ ।
यो पनि पढ्नुहोस