फाटिएको मन तुन्न जनप्रतिनिधि र कर्मचारी सुटुक्क रिसोर्टमा
असोज २, बलेफी । बेलेफी गाउँपालिकाले विजया दशमी, शुभ दिपावली, नेपाल संवत्, छठ पर्वको अवसरमा सुकुटे रिसोर्टमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम ग¥यो । बुधबार गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रम लामो तयारी र बृहत नभई छोटै अवधिमा जनप्रतिनिधि र कर्मचारी केन्द्रीत कार्यक्रम थियो । कारण बलेफी गाउँपालिकामा जनप्रतिनिधि बीचमै लामो समय देखि शीतयुद्व चलिरहेको छ ।
त्यहि टकरावलाई मथ्थर गर्न गाउँपालिकाले नजिकिंदै गरेको दशैं, तिहार चाडपर्वको अवसर पारेर चिया पानको कार्यक्रमको आयोजना गरेको जानकारहरु बताउँछन् । मुख्यगरी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ र उपाध्यक्ष सरु लामा बीच निकै लामो टकराव थियो । पछिल्लो समय अध्यक्षले बोलाएको वैठकमा समेत उपाध्यक्ष सरु पक्षका बहुमत सदस्य उपस्थिति भएनन् । पर्ख र हेरको रणनीतिमा रहेको पालिकाले बहुमत सदस्यको उपस्थिति बिनानै आर्थिक लगाएतका काम कारबाही थालनी ग¥यो ।
खाता सञ्चालन, पुराना योजनाहरुको भुक्तानी तथा नयाँ योजनाहरुको सम्झौताको लागि निवेदन लिने लगाएतका कार्यहरुको थालनी पालिकाले गरि सकेको छ । चियापान कार्यक्रम सम्म आईपुग्दा आफ्नो विरोधी खेमालाई समेत सहमत गराउन सक्नु पालिका अध्यक्ष तामाङको सफलता भएको उनी निकट जनप्रतिनिधि बताउँछन् ।
आर्थिक रुपमा समेत बलेफी गाउँपालिका निकै संकटमा रहेको सोही पालिकामा कार्यरत एक कर्मचारीले बताए । उनका अनुसार गाउँपालिकाको पुरानै दायित्व मात्रै ४ करोड भन्दा माथि भुक्तानी हुन बाँकी छ । गत साल आर्थिक लगाएत विद्यालय व्यवस्थापन गठन सम्बन्धमा जनप्रतिनिधी बीच विवाद उत्पन्न भएको थियो ।
त्यतिबेला बलेफी गाउँपालिका अध्यक्ष तामाङले नीतिविपरीतका गतिविधि गरेको भन्दै उपाध्यक्षसहित ९० प्रतिशत जनप्रतिनिधिहरुले विशेष गाउँसभाको माग गरेका थिए । जसमा ३७ जना जनप्रतिनिधिले सात बुँदे मागसहित संयुक्त हस्ताक्षर गरी अध्यक्ष माथि स्थानीय सरकार सञ्चालन ऐनविपरीत काम गरेको आरोप लगाएका थिए । बलेफी गाउँपालिकाका ४२ निर्वाचित सदस्यमध्ये एक जना जिल्ला समन्वय समितिका उपप्रमुख छन् । यहाँ १६ जनाको कार्यपालिका रहेको छ ।
यो आर्थिक वर्षको लागि काम कारवाही थालनी गरेको गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीबीचको अन्तर घुलन गराउने अचुक औषधी चियापान कार्यक्रम भएको छ । सोही अवसरमा गाउँपालिका अध्यक्ष तामाङले आफुहरुले कुनै पनि किसिमका विवाद नगरेको र आउँदै गरेको महान पर्व दशैको शुभकामनाको रुपमा पालिकाको विकास निमार्णमा तदारुकताका साथ काम गर्ने प्रतिबद्धता जनाए । विगतमा जेजस्तो भएपनि आगामी दिनमा विगतका कमिकमजोरीबाट पाठ सिकेर काम गर्ने अध्यक्ष तामाङको भनाई छ ।
यस्तै उपप्रमुख सरु लामा तामाङले विकास निमार्णको काममा पालिकालाई सुन्दर पालिका बनाउने कार्यमा आफूले सक्दो योगदान गर्ने बताईन । यस्तै सबै वडाअध्यक्षहरुले कार्यपालिका र जनप्रतिनीधिहरु एक आपसमा विवाद नगरी पालिकाको विकासमा लाग्न नेतृत्वलाई आग्रह गरे ।
सो कार्यक्रममा पालिका प्रमुख ,उपप्रमुख , अन्य राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु,वडा अध्यक्ष लगाएत सदस्यहरु, कर्मचारी तथा केही निश्चित सञ्चारकर्मीहरु सहभागी थिए ।