ब्रम्मायणी सान किसान कृषि सहकारीको ११ औं साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरुलाई सम्मान

दिनेश दुलाल
असोज २७, जलबिरे (सिन्धुपाल्चोक) । बलेफी गाउँपालिका–२ फुलपिङकोटमा रहेको ब्रम्मायणी सान किसान कृषि सहकारीले आफ्नो ११ औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार गरेको सहकारीको ११ औं साधारणसभाको बागमति प्रदेश सांसद अमृता नेपालले उदघाटन गरेकी हुन् । कार्यक्रमको प्रमुख अतिथि रहेकी सांसद नेपालले उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै राजधानीमा केन्द्रीत सहकारीहरु धराशाही बनीरहेको अवस्थामा ब्रम्मायणी सहकारीले छोटो समयमै प्रगती हाँसिल गर्न सफल रहेको भन्दै सहकारीले किसानलाई अब कसरी प्रविधिमैत्री बनाउन पर्छ भनेर सोच्न पर्ने धारणा राखिन ।

साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सांसद अमृता नेपाल

कृषि पेशाप्रति शिक्षामा समेत अपहेलना भएको भन्दै बाबूआमाले समेत आफ्ना छोराछोरीलाई आर्शिवाद दिंदा तिमी असल किसान बनोस भनेर भन्न नसकेको यथार्थ सुनाईन । किसानले अब निर्वाह मुखि पेशाबाट सफल व्यवसायी बन्न पर्ने कुरामा जोड दिंदै प्रदेश सांसद नेपालले बागमति प्रदेश सरकराले व्यक्तिगत फाम लिएर आउनेलाई भन्दा सामुहिक रुपमा व्यवसाय गर्नेलाई प्राथमिकता दिएर अनुदान दिईने उदघोष गरिन । कृषिलाई एउटा पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने धारणा राख्दै उनले कृषिलाई रुपान्तरण आवश्यकता रहेको औंल्याईन । किसानले सबभन्दा पहिला आफूलाई आर्थिक रुपमा विकास गरेर मात्र समाजको विकास हुने तर्क राख्दै सांसद नेपालले अब विद्यालयहरुमा अनिवार्य रुपमा १२ कक्षा सम्म प्राविधिक धारको पढाई हुनपर्ने धारणा राखिन ।

कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष छवीलाल न्यौपानेले ब्रह्मायणी सहकारीले छोटै समयमा उपलब्धीमुलक काम गरेको भन्दै किसानलाई सहकारीले थप व्यवसायीकरणतिर लैजान जोड दिनुपर्ने बताए । त्यस्तै वडा नम्बर ३ का वडाअध्यक्ष रितेश तामाङले सहकारीले कृषि उत्पादनलाई प्राथमिकता दिएर विभिन्न खालको तालिमको आवश्यकता औंल्याए । गाउँगाउँमा लघुवित्तहरुले किसानहरुको बचत पैसा जिल्ला बाहिर पु¥याएको भन्दै उनले भारतले एकगाडी गोलभेंडा फालेको प्रचार गरेर नेपाली किसानलाई गोलभेंडा उत्पादन गर्न हतोत्साहित गरेको टिप्पणी गरे ।

११ औं साधारणसभाको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष राजकुमार श्रेष्ठ

कार्यक्रममा विभिन्न व्यत्तिहरुले सहकारीको ११ औं साधारणसभालाई शुभकामना दिएका थिए । कार्यक्रमका सभापति राजकुमार श्रेष्ठले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले सहकारीको विउ संकलन तथा प्रशोधन केन्द्र सहितको आफ्नै भवन, अलैंची सुकाउने भट्टा, हेटौंडाको कृषि यान्त्रिक प्रर्वद्वन कार्यक्रम अन्र्तगत ५०% अनुदानमा बलेरो गाडी, ५० लाख अनुदानमा सिंचाई तथा कृषियन्त्रहरु वितरण, ५५ लाख बराबरको कृषि यान्त्रीकरण सामाग्री उपलब्ध गराउन सकिएको बताए । बलेफी गाउँपालिका, जुगल गाउँपालिकाका केही वडा तथा चौतारा साँगाचोकगढी नगरपालिकाका केही वडाहरुलाई कार्यक्षेत्र बनाउने याेजनमा रहेको उक्त सहकारीको ८ सय ८४ जना शेयर सदस्य छन् । शेयर पूँजी ६९ लाख १३ हजार रहेको उक्त सहकारीको कारोबार ८ करोड पच्चिस लाख भन्दा माथि पु¥याउन सफल भएको उनले बताए ।

उत्कृष्ट व्यवस्थापकको भूमिका निर्वाह गरेको भन्दै सम्मानित हुँदै व्यवस्थापक तुलसा कोईराला

यसैबीच उक्त सहकारीको ११ वार्षिक साधारणसभाको अवसरमा सहकारीमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । जसमा सफल व्यवस्थापकको भूमिका निर्वाह गरेको भन्दै कर्मचारी मध्येबाट व्यवस्थापक तुलसा कोईराला, जेष्ठ नागरिकमा उत्कृष्ट हर्क बहादुर श्रेष्ठ, धानको बिउ उत्पादन तथा बिक्री गर्ने गणेश श्रेष्ठ र भेष प्रसाद कोइराला सम्मानित भएका हुन् । यसैगरी मकैको बिउ उत्पादन र बिक्री गर्ने भरत बहादुर श्रेष्ठ र तोख बहादुर श्रेष्ठ, उत्कृष्ट समुह जलबिरे ढाडे समुह, मोवाइल बैकिङ बढि प्रयोग गर्ने फिरोज आलम, गाडीको बढी प्रयोग गर्ने खकेन्द्र हमाल, असल ऋणि ओम बहादुर भण्डारी र पशुपालन गर्ने उत्कृष्ट सदस्य पदम बहादुर श्रेष्ठ सम्मानित भएका थिए । सहकारीले ११ औं साधारणसभा आफ्नै कार्यालय झोलङ्गेमा गरेको हो ।