‘सिन्धुकोटका मिहिनेती पूर्व शिक्षक जसले फलफूलबाट वार्षिक ३५ लाख आम्दानी गर्छन’

दिनेश दुलाल
असोज १९, मेलम्ची । मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय कृष्णजंग रायमाझी ३० वर्ष शिक्षण पेशा गरेर अवकाश लिएका पूर्व शिक्षक हुन् । २० हजार माथी उनको पेन्सन नै आउँथ्यो । बुढेस कालमा दुःख गर्न पर्ने कुनै वाध्यता थिएन उनलाई । किनकी उनका छोराछोरी सबै हुर्केर कमाउने जमाउने भईसकेका थिए । घरव्यवहार चलाउन र खानलाई कुनै समस्या थिएन । तर पनि रायमाझीलाई त्यतिकै बस्न मनले मानेन् । उनको घरवरपर टन्नै पाखोवारी थियो ।

सिन्धुकोटका फलफूल व्यवसायी कृष्णजंग रायमाझी

जहाँ घाँस बाहेक अन्य केही उत्पादन थिएन । त्यहि ठाउँलाई उनले कागती, जुनार र सुन्तोला व्यवसाय गर्ने निधो गरे । सुरुमा परिक्षणको रुपमा केही बोट सुन्तोला, कागती र जुनार फलेपछि उत्साहित बनेका रायमाझीले आफ्नो बाँझो रहेको भिरपाखा मात्रै नभई छिमेकीको समेत झण्डै ५० रोपनी जग्गा १५ वर्षको लागि भाडमा लिए । ६० रोपनी पाखोमा फलफूलको विरुवा लगाउन झण्डै ८० लाख खर्चको जोहो गर्न पर्दथ्यो । तर उनीसंग त्यतिधेरै पैसा थिएन ।

काठमाडौं देखि आफ्नै जिल्लाका प्राय बैंकहरुलाई ऋण माग्न कुनै कसुर बाँकी राखेनन् । तर कुनै बंंैकले उनलाई पत्याएनन् । ऋण नपाएर निराश बनेका रायमाझीलाई छिमेकी भोटेचौरमा रहेको सूर्यमूखि साना किसान कृषि सहकारी संस्थाले ऋण दिएर उनलाई आशा जगाईदियो । सहकारीको शेयर सदस्य रहेका रायमाझीको फलफूल व्यवसाय गर्ने योजना देखेर सहकारीका अध्यक्ष मित्रलाल चौलागाँईले फलफूल व्यवसाय गर्न ऋण उपलब्ध गराईदिए । गाउँको एउटा मामुली सहकारीबाट यति ठूलो ऋण २८ लाख पाएपछि उनले आफूले सोचेको जस्तो व्यवसाय सुरु गरे । भोटेचौरमा रहेको सूर्यमूखि साना किसान कृषि सहकारी संस्था नै उनले लागी भावी बन्यो । कुनै बैंकले ऋृण नपत्याको बेलामा सूर्यमूखिले ठूलो हौसला प्रदान गरेको उनी बताउँछन् । अहिले उनको बैंगाचामा लठरम्म कागती, सुन्तोला र जुनार फलिरहेको छ । यो सिजनमा कागती उनको बैंगैचामै ग्राहकहरु किन्न आउँछन् । उनलाई भ्याईनभ्याई छ यतिबेला ।

रायमाझीले पहिलो पटक कागती ३० रोपनीमा, जुनार र सुन्तोला गरी १० रोपनी गरी जम्मा ४० रोपनीमा लगाएको बताए । ७० देखी ८० लाख लगानी गरेर फलफूल व्यवसाय गरेका रायमाझी दोस्रो बर्षदेखि वार्षिक ३५ लाख आम्दानी गर्ने व्यवसायी बनेका छन् । उनका छोराले समेत १५ रोपनीमा उस्तै व्यवसाय गरेका छन् । सबै गरेर ६० रोपनीमा फलफूल खेती लगाएको उनले सुनाए । कागती सुन्तोला र जुनार एकहजार बोट लगाएको तीन वर्ष भयो । दुई वर्षमै कागती बोटले थामि नसक्नेगरी फल्यो । पहिलो वर्षमा कागती ५ हजार किलो फल्यो । जसमा ३ हजार किलोको डेडसयमा बेच्दा करिब साडे चारलाख आम्दानी गरे । अब उनीसंग दुईलाख बराबरको बिक्री हुन बाँकी छ । कागतीको माग ज्यादै बढेकोले भनेजति पु¥याउन नसकिएको रायमाझी बताउँछन् । भारतबाट आउने कागती भन्दा चिसो ठाउँमा रहेको सिन्धुकोटकोको कागती लामो समय नबिग्रिने हुँदा व्यापारीहरुले मनपराएको उनी बताउँछन् ।

आगमी बर्ष १५ देखि ३० हजार किलो कागती उत्पादन हुने उनी बताउँछन् । जसको मूल्य २५ देखि ३० लाख पर्न आउँछ । त्यसैगरी सुन्तोला र जुनार करिब १० लाख बराबरको बिक्री गरिसकेका छन् । गत साल उनले कागती जुनार र सुन्तोला गरी करिब १५ लाख आम्दानी गरेको सुनाए । यहाँको सुन्तोला निकै गुलियो भएकोले सबैको माग रहेको उनको दावी छ । पुषमा सुन्तोला र जुनारको सिजन हुने उनी बताउँछन् । आगमी बर्ष उनले सुन्तोला र जुनार गरेर १० लाख आम्दानी हुने पक्षपण गरेका छन भने कागती २५ लाख सम्म आम्दानी हुने उनी बताउँछन् । अबको दुईवर्षमा सबै लगानी उठीसक्ने उनको दावी छ ।

आफूले मिहिनेत गरेपनि सरकारले भने खासै सहयोग नगरेको व्यवसायी रायमाझीले दुखेसो पोखे । ‘आफूजस्तै मिहिनती किसानलाई सरकारले खासै वास्ता गरेन’, रायमाझीले भने । यस वर्ष मेलम्ची नगरपालिकाले कोल्डस्टोर बनाउन ५ लाख अनुदान दिएको उनी बताउँछन् । सूर्यमूखि सहकारीले ऋण नदिएको भए आफूले यति ठूलो मात्राको फूलफूल व्यवसाय गर्न आँट नआउने रायमाझी सुनाउँछन् ।

सम्भव त पछिल्लो समय सिन्धुपाल्चोक जिल्लामा यति ठूलो परिमाणमा फलफूल व्यवसाय गरेर आम्दानी गर्ने रायमाझी पहिलो सफल व्यक्ति भएको स्थानीयको दावी छ । उनको बैंगचा यतिबेला आन्तरिक पर्यटकहरुलाई बंगैचा घुम्न र स्वादिलो जुनार तथा सुन्तोला चाख्ने अखडा बनेको छ ।