सिन्धुपाल्चोकको एउटै गाउँमा वार्षिक झण्डै ३ करोड मूल्यको दुध निर्यात
दिनेश दुलाल
असोज १८, वलेफी । जिल्लाको बलेफी गाउँपालिका–४ बिन्जेलमा वार्षिक झण्डै ३ करोड मूल्यको दुध निर्यात भएको छ ।
गत आर्थिक बर्ष बिन्जेलबाट ४ लाख ८७ हजार ७ सय ७९ लिटर दुध संकलन भएर निर्यात गरिएको बिन्जेल दुग्धउत्पादक सहकारी संस्थाका व्यवस्थापक द्वारिका नेपालले जानकारी दिए । उनका अनुसार जसको मूल्य दुई करोड ९१ लाख ९६ हजार ५ सय ९३ रुपैंया पर्न आउँछ । बिन्जेल ४ र ५ वडाले छोएपनि यो एउटै गाउँको दुध संकलन हो ।
गाउँमा पछिल्लो समयमा उन्नत जातका गाई तथा भैसी पालन गर्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको उनले बताए ।
पछिल्लो समयमा ग्रामीण भेगमा हुँदै आएको निर्वाहमुखी पशुपालन घटे पनि व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसानको भने वृद्धि भएको छ । स्थानीय र प्रदेश सरकारले किसानलाई खासै अनुदानका कार्यक्रम नदिएपनि किसानहरु आफैं अग्रसर भएर दुध उत्पादनमा लागेको संस्थाका उपाध्यक्ष हरीप्रसाद तिमिल्सिना बताउँछन् ।
स्थानीय सरकारले किसानहरुलाई प्रोत्साहन गर्नुको साटो वेवास्था गरेका कारण अझै सोचेको जस्तो दुध उत्पादन हुन नसकेको उक्त सहकारीका पूर्व अध्यक्ष कृष्ण सुवेदी बताउँछन् । वार्षिक झण्डै ५ लाख दुध बेच्ने बिन्जेलमा स्थानीय सरकारले पशुपालक कृषकलाई विजनको व्यवस्था समेत गर्न नसकेको बिन्जेल तल्लो गाउँका पशुपालक युवा व्यवसायी ईश्वर नेपालले दुखेसो पोखे । आफूले गाईलाई कृक्रिम गर्भधारणको लागि पाँचखालबाट ३ हजार तिरेर बिजन ल्याउन परेको स्मरण सुनाए ।
पालिकाकामा कृषि तथा पशु प्राविधिक रहेपनि किसानलाई आवश्यक परेको बेलामा सहयोग नपाएको उनको भनाई छ । ईश्वर बिन्जेलका उत्कृष्ट व्यवसायी हुन् । उनले गत वर्ष १३ हजार ९ सय ८० लिटर दुध बेचेका थिए । जसको मूल्य ८ लाख २३ हजार ६ रुपैया हुन्छ । सबैभन्दा दुध उत्पादन गर्ने किसान भन्दै नेपालललाई सहकारीको ३० औं साधारणसभामा प्रमथ पुरस्कार दिएर सम्मान समेत गरेको थियो । उनी गत साता अध्यायन अवलोकन भ्रमणको लागि जापान समेत पुगेर आएका थिए ।