जब पालिका अध्यक्ष र उपाध्यक्ष नै बजार अनुगमनमा निस्किएपछि ..

दिनेश दुलाल
असोज १७, लिसंखुपाखर गाउँपालिका–५ शिलढुङ्गाका रमेश भण्डारीले व्यवसाय गरेको वर्षौै वित्यो तर बजार अनुगमनमा स्थानीय जनप्रतिनिधिलाई देखेका थिएनन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाईमा वर्षमा एकपटक आउने गरेको बजार अनुगमन मात्रै उनलाई थाहा छ । त्यहि पनि चाडपर्वको आसपासमा मात्रै ।

बजार अनुगमन गर्दै पालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठूदेवी लामा र प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ लगाएत टोली

स्थानीय तह भएयता स्थनानीय सरकारबाट बजार अनुगमन उनले अहिले सम्म देखेका थिएनन् । जब मंगलबार गाउँपालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा तथा प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ सहितको एकदर्जन टोली बजार अनुगमनमा निस्कियो । एक्कासी जनप्रतिनिधि सहितको टोली बजार अनुगमनमा देख्दा केहीमा संशय र अनौटोपन आउनु स्वभाविक थियो । तर बजार अनुगमनपछि व्यवसायीमा कुनै भय र संत्रास देखिएन । त्याहाँ कुनै रवाफ र ठाडो निर्देशनका शैलीहरु प्रस्तुत भएन । बरु स्थानीय सरकार र व्यवसायीबीच सहकार्यको सौहार्दपूर्ण वातावरण बन्यो । केही पसलहरुमा म्याद गुज्रेका केही सामाग्री भटिएपनि व्यवसायी स्वयमलाई नष्ट गर्न वा फिर्ता गर्न सल्लाह दिईयो । किनकी बजार अनुगमन गाउँपालिकाले पहिलोपटक गरेको थियो । स्थानीय व्यापार, व्यवसाय तथा उद्योगहरुलाई करको दायरामा ल्याउने स्थानीय सरकारको लचकता र सदासयतालाई व्यवसायीहरुले समेत खुलेर प्रशंसा गरे । जनप्रतिनिधि समक्ष स्थानीय व्यापारीहरुले दोहोरो कर नलगाउन तथा विचौलिया व्यवसायलाई रोक्न सुझाब दिए ।

बजार अनुगमन पछि पालिका अध्यक्ष राजु लामाले स्थानीय सरकारले व्यापारी व्यवसायीहरुलाई चिढाउन नभई सौहार्द वातावरणमा करको दायरामा ल्याउन प्रयास थालिएको बताए । ‘व्यापारीहरुलाई तर्साएर होईन भयरिहत वातावरणमा करको दायरामा ल्याउने हाम्रो उद्देश्य हो’, अध्यक्ष लामाले भने । दर्ता, ईजाजत नभएका तथा नविकरण नभएका व्यावसायीहरुलाई प्रक्रिया पुरा गर्न आग्रह गरिएको उपाध्यक्ष मिठूदेवी लामाले बताईन । अनुगमनका क्रममा भेटिएका अखाद्य सामाग्रीहरु फिर्ता गर्न वा नष्ट गर्न स्वयम व्यापारीहरुलाई सुझाएको उपाध्यक्ष लामाले बताईन । पालिकाले वैंक तथा वित्तिय संस्थाहरुलाई समेत स्थानीय सरकार समक्ष दर्ता तथा ईजाजत लिन सुझाएको प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले बताए ।

गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटल लगायतको मंगलबार जनप्रतिनिधि सहित प्रहरी तथा पत्रकार सम्मिलित टोलीले मंगलबार शिलढुङगा, ठूलोपाखर लगाएत बजारको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा केही पसलहरूले मूल्यसूची नराखेको, आवश्यक प्रक्रिया नै पूरा नगरी व्यवसाय सञ्चालन गरेको र केही पसलमा मापडण्डअनुसारको नापतौल सामग्रीसमेत नभएको पाइएकाले तत्काल सच्याउन आवश्यक निर्देशन दिइएको अनुगमन टोलीकी संयोजक सागर खड्काले बताए ।

मंगलबारबाट सुरु गरिएको अनुगमनको पहिलो दिन वडा नम्बर ५ मा २६ र वडा नम्बर ७ मा ८ वटा पसलहरुको अनुगमन गरिएको लिसंखुपाखर गाउँपालिका घरेलु तथा साना उद्योग शाखाका प्रमुख विक्रम सुन्दासले बताए । अनुगमनमा दर्ता, नविकरण, इजाजत, कर, सामाग्रीहरुको मिति, अवधि र विक्री, खरिद मूल्य, सेवा सुविधा, मूल्यसूचि, साईनवोर्ड, नापतौल प्रमाण, आदि हेरिएको उनले बताए । अनुगमन टोलीमा सागर खड्काको संयोजकत्यमा घरेलु तथा साना उद्योग शाखाबाट विक्रम सुन्दास, प्रहरी चौकी डाँडापाखरका प्रहरी सायक निरिक्षक नेत्र काफ्ले र पत्रकार माहासंघ सिन्धु शाखाबाट दिनेश दुलाल सहभागी थिए । पालिकाका सबै वडामा रहेका पसलहरुमा अनुगमनलाई निरन्तरता दिने गाउँपालिकाले जनााएको छ ।