भोताङमा कृषि उपजमा आधारित जिल्लाकै पहिलो पि.जि.एस सम्बन्धी तालिम

दिनेश दुलाल
असोज ९(२०८०), भोताङ । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ३ अन्र्तगत भोताङमा कृषि उपजमा आधारित पि.जि.एस सम्बन्धी तालिमको सुरुवात गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा सेरच्यु बरलो सान किसान कृषि सहकारीको आयोजनामा कृषि उपजको प्राङगरिक प्रमाणीकरणको लागि पि.जि.एस व्यवस्थापन तथा निरिक्षण सम्बन्धी पुनर्ताजगी तालिम सोमबारबाट सुरुवात भएको हो ।

५ दिन सम्म सञ्चालन हुने उक्त तालिमले कृषिजन्य वस्तुहरुको उत्पादन गर्दा रसायनिक मल तथा विषादीहरुको प्रयोग नगरी प्राङ्गारिक वस्तुको मात्र प्रयोग गरी तथा कृषि पर्यावरणलाई सन्तुलित राखि खेती गर्ने प्रविधिलाई विस्तार गर्न तालिमको सुरुवात गरिएको ३ नम्बर वडाअध्यक्ष निमाछिरिङ तामाङले सिन्धुज्वालालाई बताए । यस प्रविधिले प्रति इकाई जग्गामा बढी उत्पादन गर्ने भन्दा दीगो कृषि उत्पादनमा जोड दिने हिसाबले भोताङलाई कृषि उपजमा विशुद्व अर्गानिक बनाउने लक्ष्य राखिएको उनले बताए । यो अभियान वडा हुँदै पालिका तह सम्म पुग्ने उनको भनाई छ ।

३ नम्बर वडाका ३५ जना कृषक सहभागी उक्त तालिम जिल्लाकै पहिलो भएको तालिमका प्रशिक्षक एवम् कृषि वन प्रर्वद्वन नेपालका प्राविधिक रामजी प्रसाद ढकालले बताए । उनका अनुसार कृषिवाली प्रमाणिकरण गरेर बजारीकरण गर्ने जिल्लामै यो नै पहिलो समुह हुनेछ । अनुगमन मूल्याङकन पुनर्ताजगी तेस्रो चरणको तालिम हो । यसअघि किसानहरुलाई प्राङगरिक खेती, वाली प्रमाणीकरणका चरणहरु सम्बन्धी पहिलो र पुनर्ताजगी पि.जि.एस समुह गठन सम्बन्धी दोस्रो चरणको तालिम सम्पन्न भई सकेको छ । पछिल्लो तालिमले प्रशिक्षार्थीहरुलाई सर्टिफिकेट लेवल सम्म लैजाने प्रशिक्षक ढकालले बताए । यस किसिमको तालिमबाट किसानले प्राङगरिक वालीको ग्रेडिङ, संकलन तथा प्याकेजिङ, लेवलिङको प्रयोगात्मक अभ्यासपछि वजारीकरणको रणनीति तय गरिने अर्का प्रशिक्षक कपिल प्रजापतिले जानकारी दिए ।

तालिमले प्रपिशार्थीहरुलाई किसानले उत्पादन गरेको अर्गानिक कृषि उपजको प्रमाणीकरण गरेर बजारीकरण सम्म गर्न सक्ने क्षमता प्रदान गर्ने पि.जि.एस समुहकी संयोजक तथा सेरच्यु बरलो साना किसान सहकारीकी अध्यक्ष रचना मोक्तानले बताईन । सहकारीकी व्यवस्थापक हसिना तामाङका अनुसार उक्त सहकारीले किसानहरु लक्षित विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आईरहेको छ । उनका अनुसार सहकारीले भोताङलाई कृषि उपज आधारित अर्गानिक वस्तु उत्पादन गर्ने उद्देश्य राखेर प्राङ्गारिक खेतीमा कम्पोष्ट मलको बढी प्रयोग, प्राकृतिक रोग व्यवस्थापन, बाली विविधिकरण, वातावरणीय प्रर्दुषण न्यूनिकरण, स्थानीय स्रोतको सदुपयोग आदि पक्षलाई बढी जोड दिएको छ । यो क्षेत्रमा आलु उत्पादन किसानको आर्थिक आम्दानीको पहिलो श्रोत बनेको छ ।