प्रलेसको ७२ औँ स्थापना दिवस, विभिन्न साहित्यिक व्यक्तिहरुलाई सम्मान

असोज ५ (२०८०), काठमाडौँ । कम्युनिष्ट घटकहरुको एकमात्र साझा संगठन प्रगतिशिल लेखकसंघले आफ्नो ७२ औं स्थापना दिवस मनाएको छ । प्रज्ञा भवन काठमाडौंमा आज ५ गते प्रलेसले विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस कार्यक्रमको उदघाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीले गरेका हुन् । उदघाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको तथा नेपालको बाम आन्दोलन पनि टुट फुट रहेको अवस्थामा प्रगतिशील लेखक सङ्घ, एकताको दिशामा क्रियाशील भइरहनु गौरवको कुरा भएको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको स्थापना दिवसमा मन्त्री किराँतीले, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन नभएकाले पटक–पटक असफल भएको’ बताए । ‘नेपाली समाज भनेको माटो र विचार भनेको जरा हो, त्यसैले नेपाली माटोमा आधारित समाजवाद आवश्यक छ,’ उनले भने ।
समाजवादी संस्कृतिको अभ्यासको आवश्यकता माथि जोड दिँदै मन्त्री किराँतीले भने ‘समुन्द्रपारिको समाजवादको मात्र वकालत गर्नुभन्दा आफ्नै देश तथा परिवेश अनुसार समाजवादी संस्कृतिको अभ्यास गरिनुपर्छ’

विभिन्न प्रतिष्ठानहरूको गठन गरेर विकृति बढ्दै गएको बताउँदै मन्त्री किराँतीले नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञिक थलो भए पनि त्यहाँ कुनै उत्साह र उमङ्ग नभएको प्रतिक्रिया दिए । कार्यक्रममा प्रलेस पूर्व अध्यक्ष जिवेन्द्रदेव गिरी, एकीकृत अखिल नेपाल जनसाँस्कृतिक माहासंघका केन्द्रीय अध्यक्ष मात्रिका पोखरेल लगाएतले मन्तव्य राखेका थिए ।

सङ्घको ७२ औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार स्थापना दिवसको अवसरमा विभिन्न चार विधामा प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसरी सम्मानित हुनेहरूमा रु.२५,१०० राशिसहित प्रलेस श्यामप्रसाद स्मृति पुरस्कारबाट कुन्ता शर्मा, रु.२०,१०० राशिसहित प्रलेस प्रतिभा पुरस्कारबाट नरेश भण्डारी, रु.१०,१०० राशिसहित प्रलेस बाल साहित्य पुरस्कारबाट प्रा.डा. कपिल लामिछाने र रु.१०,१०० राशिसहित प्रलेस युवा पुरस्कारबाट गुरुप्रसाद कुमाल ‘बुलबुल’लाई सम्मानित गरिएको थियो । सोही अवसरमा अन्तरवार्ता विशेषाङ्क, प्रलेस २८ समेत प्रमुख अतिथि मन्त्री किराँतीबाट विमोचित गरिएको थियो ।

सङ्घका अध्यक्ष डा.मधुसूदन अधिकारीको अध्यक्षता, उप–महासचिव बालमुकुलन्द कार्कीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष नमुना शर्माले स्वागत मन्तव्य राखेकी थिईन ।

स्थापना दिवसको अवसरमा उपाध्यक्ष समीर सिंहले स्रष्टा परिचय र सचिवालय सदस्य डा.कौशीला रिसालले विमोचित विशेषाङ्कको परिचय राख्नुभएको थियो ।
कार्यक्रममा पुरस्कार छनोट प्रक्रियाबारे पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.डा.जीवेन्द्रदेव गिरी तथा शुभकामना मन्तव्य पूर्व अध्यक्ष मातृका पोखरेलले राख्नुभएको थियो ।
कार्यक्रममा जन सांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी तथा रक्तिम सांस्कृतिक अभियानका इन्चार्ज रामप्रकाश पुरीको समेत आतिथ्य थियो ।