बालदिवसको अवसरमा मेलम्चीमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता

२०८० भाद्र ३०, मेलम्ची । मेलम्ची नगरपालिकाले नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेर यो बर्षको बालदिवस मनाएको छ ।
सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ देशैभरी ५९ औं बालदिवस मनाइरहेको बेला यस नगरले समेत आफ्नो पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयको सहभागीतामा बालदिवस मनाएको हो ।

मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङको प्रमुख आतिथ्यतामा भएको तथा उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा ईन्द्रेश्वरी मावि मेलम्चीमा शुक्रबार भएको हो । कार्यक्रमलाई प्रतियोगिता उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले बालबालिकाका अधिकारहरु कसैले पनि हनन गर्न नहुने धारणा राखे । बालबालिकाका लागि नगरले विभिन्न योजना बनाएको उनको भनाई थियो ।

नगर उपप्रमुख उमा प्रधानले बालअधिकार सुनिश्चित गर्नु नगरको पहिलो दायित्व भएकोले बालबालिकाको क्षेत्रमा नगरले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको औंल्याईन । पालिकाको आर्थिक सहयोग तथा नगर बालसञ्जालले आयोजनामा वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता भएको हो । वक्तृत्वकला प्रतियोगितामा १८ विद्यालयका ३० प्रतियोगि सहभागी थिए । जसमा तेर्से माविकी सपना विक प्रथम भईन । त्यसैगरी द्वितीयमा बालसुधार माविकी अन्जु गिरी, जालपादेवी माविकी अस्मिता पुरी तृतीय र ईन्द्रेश्वरी माविकी स्वस्थानी वाईवाले सान्त्वना पुरस्कार हात पारिन । त्यसैगरी सोही दिन भएको हाजिर जवाफ प्रतियोगितामा सिन्धुपुराना गाउँ मावि प्रथम भएको छ । त्यसैगरी कालिका मावि द्वितीय, सेतीका देवी मावि तृतीय र बतासे माविले सान्त्वना पु्रस्कार हात पारेको छ । सहभागी टोलिलाई पुरस्कार, प्रमाणपत्र सहित नगर प्रमुख तामाङ र प्रधानले सम्मान गरेका थिए ।