स्थानीय सरकारलाई शिक्षक दरबन्दी मिलान गर्न सकस, कतै आहात, कतै फालाफाल
शिक्षक दरबन्दी नहुँदा बहुसंख्यक जनजाति रहेको भिमेश्वरी मावि संकटमा
दिनेश दुलाल
भदौ २४, भिमटार । ईन्द्रावती गाउँपालिका–१२ भिमटारमा रहेको भिमेश्वरी माध्यामिक विद्यालय स्थपना भएको ६१ बर्ष भईसकेको छ । २०१९ सालमा स्थापना भएको उक्त विद्यालय कक्षा १२ सम्म पढाई हुन्छ । ९५ प्रतिशत दनुवार र माझी समुदायका बालबालिका अध्यायन गर्ने उक्त विद्यालयमा ५१० भन्दा बढी विद्यार्थी छन् ।
ईन्द्रावती गाउँपालिका भरीकै सबैभन्दा बढी विद्यार्थी रहेको भिमेश्वरीमा शिक्षक भने मुश्किलले १५ जना छन् । त्यहि पनि एउटा पनि माविको स्थायी दरबन्दी छैन, सबै राहत, अनुदान र निजीश्रोतका छन् । प्रति शिक्षकलाई ३४ जना विद्यार्थी भागमा आउँछन् । उता गाउँपालिकाकै वडा नम्बर ६ मा रहेको श्री सिपातीनघरे संस्कृति माध्यामिक विद्यालय पनि कक्षा १२ सम्म नै पढाई हुन्छ तर त्याहाँ आधा दर्जन भन्दा बढी स्थायी शिक्षक छन् । राहत, अनुदान र नीजि समेत गरी त्याहाँ १५ भन्दा बढी शिक्षक कार्यरत छन् । ब्राह्मण क्षेत्री बसोबास रहेको सो ठाउँको तीनघरे संस्कृति माध्यामिक विद्यालयमा मुश्किलले ८० जना विद्यार्थी अध्यायन गर्छन । प्रति शिक्षक ५ जना भागमा आउनेगरी शिक्षक संख्या रहेको उक्त विद्यालय भौतिक सुविधाको हिसाबले विद्यालय भवन भव्य महल छ । यि त उदाहरण पात्र मात्रै हुन् । यि समस्या अन्य विद्यालयमा समेत छन् । अन्य गाउँपालिकाले थोरै विद्यार्थी संख्या भएका विद्यालयहरुलाई मर्ज तथा शिक्षक मिलान योजना ल्याएपनि ईन्द्रावतीमा भने लागु नभएको त्याहाँका स्थानीय बताउँछन् ।
मन्त्री परिषदबाट ’शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६’ पास भएपनि सबै स्थानीय तहमा पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन् ।
नेपाल सरकार, मन्त्रिपरिषबाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोजिमको दरबन्दी मिलानको कार्य स्थानीय तहगत रुपमा बाँडफाँड गरी दरवन्दी मिलान गर्न बाटो खुलेपनि केही स्थानीय तहमा भने कार्यान्वयनको समस्या देखिएको छ । त्यहि समस्या आज जनजाती बाहुल्यता रहेको भिमटारले भोगिरहेको छ । भिमेश्वरी मावि सञ्चालन २०६३ र उमावि सञ्चालन २०७१ भएपनि अहिले सम्म उमावि दरबन्दी नभएको सोही विद्यालयका प्रध्यानध्यापक कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । उनका अनुसार उमावि पालिका करार १, मावि राहत १, संघीय अनुदान मावि १, निमावि दरबन्दी १, निमावी राहत ३, प्रावि दरबन्दी ६ र प्रावि राहत २ गरी जम्मा १५ जना शिक्षक कार्यरत रहेको उनले जानकारी दिए । त्यस्तै विद्यालयबाट ४ जना शिक्षक निजीश्रोतमा राखेको उनले बताए । उनका अनुसार वालविकास केन्द्र दुई तहमा सञ्चालन भएको उक्त विद्यालयमा कक्षा ११ र १२ मा मानविकी शिक्षा र व्यवस्थापन धार सञ्चालन गरेको छ ।
२०७२ सालको भुकम्प पश्चात एसओएस बालग्रामबाट २०७५ सालमा १४ वटा कक्षाकोठा निर्माण गरिएको र शिक्षाविकास समन्वय ईकाईबाट ८ वटा गरी २२ वटा पक्की कोठा रहेपनि विद्यार्थी संख्या र संचालित तहअनुसार कक्षा कोठाको अभाव रहेको उनले बताए ।
बालबिबाह र बालश्रम प्रमुख समस्या रहेको भिमटारमा साँक्षतदर ४० प्रतिशत भन्दा कमी छ भने आर्थिक अवस्था ज्यादै कमजोर हुँदा त्याहाँका विद्यार्थी ज्याला मजदुरीको लागि काठमाडौं लगाएतका शहरहरुमा जाने गरेको उनले सुनाए । बीचमै पढाई छाडेर केही श्रम बेच्न खाडीमुलुक समेत जाने गरेका छन् । आफूले उक्त विद्यालयको शैक्षिक र भौतिक सुधारको लागि पालिकासंग पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई हुन नसकेको वडा नम्बर १२ का वडाअध्यक्ष सुरेन्द्र दनुवार बताउँछन् । पालिका शिक्षा शाखाले भने पदपूर्तिको लागि विज्ञापन गरेपनि अहिले सम्म अहिले सम्म कुनै शिक्षक सम्पर्कमा नआएको प्रतिक्रिया दिएको छ । जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्ण सुवेदीले भने उक्त विद्यालयको बारेमा आफूले गम्भिरतापूर्वक चासो लिएको बताए ।