आजबाट तातोपानी नाका स्थानीयलाई लागि खुल्ला हुँदै, अध्यागमन कार्यालयद्वारा प्रवेशपास दिन सुरु
भदौ १५, तातोपानी । ८ वर्षअघि विनाशकारी भूकम्पको कारण बन्द भएको तातोपानी स्थित नेपाल–चीन नाका अहिले औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।
मितेरी पुल बनेर मालबाहक ट्रककन्टेनर ओहोर दोहोरका लागि आंशिक रुपमा नाका खुलेपनि आवातजावतका लागि खुल्ला भएको थिएन । सेक्टेम्बर १ बाट भने चीनको खासा क्षेत्रमा जान सिन्धुपाल्चोकवासीलाई प्रवेश पास वितरण भइरहेको अध्यागमन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सुरुको चरणमा स्थानीयलाई एक वर्षका लागि प्रवेशपास दिन थालिएको अध्यागमन कार्यालय प्रमुख रविन्द्र पोखरेलले जानकारी दिए ।
उनका अनुसार नाका पहिलो चरणमा सर्वसाधारणको लागि पुल पारीसम्म आवातजावत गर्न खुला हुने भएपछि सिन्धुपाल्चोकवासीका लागि अध्यागमन कार्यालय कोदारीले एकवर्षे प्रवेशपास वितरण गर्न थालेको हो ।
अहिले पुल पारी सम्म भएपनि क्रमशः खासा सम्म जाने व्यवस्था हुन सक्ने उनको भनाई छ । चीन तर्फ मितेरी पुल पारी दुई दर्जन भन्दा बढी व्यापार प्रयोजनका लागि पसल राखिएको आफूले जानकारी पाएको उनले बताए । उनका अनुसार चिनिया पक्षले सेक्टेम्बर १ देखि दुवै तर्फ मानव आवतजावत हुने भएपछि सोको तयारीको लागि आफ्नो क्षेत्रमा सजावटको काम सम्पन्न गरेको छ ।
बर्खाको बेला खासै चहलपहल नभएको भए पनि दशैँ नजिकिँदै जाँदा अहिले नाकामा व्यापारीहरूको साथै स्थानीय सर्वसाधारणको पनि चहल पहल सुरु भएको अध्यागमन प्रमुख पोखरेलको भनाई छ ।
त्यसैगरी नेपाल तर्फ लिपिङ बजारमा भोटेकोशी गाउँपालिका २ नम्बर वडा कार्यालयको तर्फबाट सरसफाईको काम सम्पन्न गरिएको वडाअध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
वितरण कसरी ?
यस अघि सवारीचालक, कामदार र भेडाच्याङ्ग्रा लिन जाने व्यापारीलाई मात्र प्रवेशपास दिने गरिएकोमा स्थानीयको आधारमा सिन्धुपाल्चोकका सर्वसाधारणले पनि एकवर्षे प्रवेश पास प्राप्त गर्नेछन् ।
कस्तो छ तयारी ?
कार्यालयका अनुसार यसअघि दैनिक ४० देखि ५० जना नेपाली कामको सिलसिलामा खासा प्रवेश गर्दथे । तर खासामा समेत चिनिया पक्षले मानवबस्ती खाली गरेपछि कामदार तथा चालकहरुलाई खान बस्न समस्या परेको थियो ।
चिनियाँ अध्यागमनका अधिकारीले खासा क्षेत्रमा व्यापारका लागि सिन्धुपाल्चोकका नागरिकलाई मात्र पास दिने व्यवस्था गरेको थियो । पारवहनसँग सम्बन्धित सवारीचालकहरूलाई र त्यहाँ गएर सामान झार्ने र राख्ने कामदारहरूको लागि मात्र अध्यागमन कार्यालयले प्रवेशपास उपलब्ध गराउँदै आएको थियो । तर अहिले स्थानीय सर्वसाधरणको लागि खुल्ला हुनेभएपछि चिनिया पक्षले पुल पारी १४÷१५ वटा व्यापारी प्रयोजनका पसलहरु राखेका छन् । सुरुको चरणमा नाकाबाट दैनिकी ५ सय देखी १ हजार माथि सर्वसाधारण आवातजावत गर्न सक्ने अध्यागमन कार्यालयको ठम्याई छ । यदि खासामा चिनिया पक्षले मानव बस्ती विकाससंगै होटल तथा व्यापारी पसलहरु राखेर त्याहाँसम्म सर्वसाधारणलाई जान दिएमा दैनिक एकहजार भन्दा माथि सर्वसाधारणको आवातजावत हुन सक्ने अध्यागमनको ठहर छ ।
तर नेपाल तर्फ लिपिङबजार क्षेत्रमा भूकम्पले क्षति पु¥याएका सरकारी तथा व्यक्तिका घरका भग्नावेश पन्छाईएको छैन । सडक समेत नाजुक अवस्थामा रहेको जानकारहरु बताउँछन् ।