बर्खाको भेल छेकेर सुख्खा क्षेत्रलाई हरियाली बनाउने वडा अध्यक्ष गिरीको हुटहुटी
भदौ १, (२०८०) चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ की कटुन्जेकी ५० वर्षीय शारदा पराजुलीले कयौ वर्ष भयो समयमै कहिल्यै धान रोप्न पाएको उनलाई याद छैन । अन्य ठाँउमा असारको अन्तिममा धान रोपाई सकिदा साउनको आधाआधीमा बल्ल उनको रोपाई सकिन्थ्यो । केही गरी साउनमा समेत पानी परेन भने अन्तिम सम्म धान रोपाई गरेको उनलाई याद छ ।
यसबर्ष पनि साउनको आधाआधीमा बल्लतल्ल धान रोप्न सकिन तर कटुन्जेका कयौं किसानको खेत अझै बाँझो छ । शारदा मात्रै होईन त्याहाँका गाउँ सिंगैले यो समस्या वर्षौ देखी झेल्दै आएका छन् । साँगाचोक क्षेत्र उसैत अन्य क्षेत्रको तुलनामा कम पानी पर्ने क्षेत्र हो । स्थानीय सरकारले समेत यो क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । साँगाचोक भिमटार बस्तीबाट आधा किमी मात्रै तल ईन्द्रावती नदि छ तर त्याहाँको पानी तानेर त्यो क्षेत्रलाई बाह्रैमास हरियाली बनाउने आजसम्म कुनै विकासे अड्डाबाट पहल भएन । यस्तो अवस्थामा वडा नम्बर ११ का वडाअध्यक्ष रोशनराज गिरी भने हिउँद र बर्खा दुवै मौसममा सो क्षेत्रलाई कृषिमा हरियाली राख्ने योजना बनाएका छन् । जसमा डाँडाडाँडामा बर्खाको भेलपानी छेकेर पानी पोखरी निर्माणमा उनी जुटेका छन् । उनको यो अभियान देखेर समयमै खेती लगाउन नपाएका तल्लो भेगका किसानहरु समेत आशावादी देखिएका छन् ।
उसोत बर्खा जस्तै हिउँदमा पनि कृषि बाली लगाउन वडाले तय गरेको ‘झरेको पात र परेको पानी सदुपयोग अभियान’लाई वडावासीले दैनिक श्रमदान गरेर साथ दिइरहेका छन् । बर्खाभर आकाशबाट परेको पानी जम्मा गर्ने र वडाभित्र रहेका जंगल, खेतबारीमा झरेको पात संकलन गरेर कम्पोस्ट मल बनाउन छुट्टाछुट्टै पोखरी निर्माण गरिएका छन् । हालसम्म नगरपालिका र वडाको ४० लाख लगानी तथा वडावासीको श्रमदानबाट सात सय पोखरी निर्माण भएको वडाअध्यक्ष गिरीले सुनाए ।
उनका अनुसार प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ । जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ । टारी खेतबारीलाई लक्षित गरेर बर्खामा रोपाइँ गर्न ठाउँठाउँमा स–साना पोखरी निर्माण गरिएको उनले सुनाए । त्यसैगरी, करेसाबारीको लागि घरको छतबाट खसेको पानी संकलन गर्ने घरैपिच्छे पोखरी तयार गर्न थालिएको उनको भनाई छ । ‘प्रत्येक टोलमा भैँसी आहाल बस्ने पोखरी बनाइएका छौं’, वडाअअध्यक्ष गिरीले भने । पानीको मूल र मुहानको प्रकृति जीवित राख्न आफ्नो वडाभर पाँच सयवटा साना ठूला पानी पोखरी बनाइएको उनले सुनाए ।
वडामा आएको ८५ लाख बजेटमध्ये ६० लाख कृषिमा विनियोजन गरेका वडाअध्य गिरीको पानी पोखरी बनाउने हिटहुटी कायमै छ । हिउँद लक्षित सात सयभन्दा बढी पोखरी बनाउने ध्याउन्नमा उनी छन् ।
त्यस्तै जंगलमा झरेको पात संकलन गर्न एक सयवटा पोखरी (खाल्डो) तयार गरिएको र १० भन्दा बढी पोखरी घाँसको साइलेजका लागि बनाइएको उनले सुनाए ।
पशुपालन र हिउँदे तरकारीबाट किसानलाई आम्दानी बढी दिने लक्ष्य लिएर यो अभियानमा लोका गिरीले भने, ‘बर्खाभर जम्मा गरेको पानी हिउँदमा किसानले प्रयोग गर्नेछन् ।’ अहिले वडामा टनेल र ग्रिन हाउस निर्माण भइरहेको उनले सुनाए ।
उसोत वडाध्यक्ष गिरीले पशुचौपाया खरिदका लागि वडाले किसानलाई सापटी रकम दिने गरी योजना नै बनाएका छन् । उनको यो योजना नगरपालिकाभित्र सबै वडामा कार्यविधिका रुपमा पास भएर कार्यान्वयनको प्रक्रियामा छ ।