बाह्रबिसे नगरको रचनात्मक काम, जनतालाई एम्बुलेन्स र शबबाहन सेवा निशुल्क

दिनेश दुलाल
१० असार, बाह्रबिसे । गरीबका छोराछोरीले शिक्षामा १२ कक्षा सम्म निशुल्क पढ्न पाउने व्यवस्था गरेर चर्चा कमाएको बाह्रबिसे नगरपालिकाले त्याहाँका जनतालाई एम्बुलेन्स र शववाहन सेवा निशुल्क प्रदान गर्ने भएको छ ।

नगरपालिकाको १३ औँ नगरसभाको निति तथा कार्यक्रममा लोकप्रीय योजनाहरु मध्ये नगरबासीलाई एम्बुलेन्स तथा शववाहन निशुल्क व्यवस्था गर्न लागिएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले सिन्धुज्वालालाई जानकारी दिए । आगमी साउन १ गते बाट नगरबासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने उनले बताए । एम्बुलेन्स नगरबाट खरिद गरिएको र शववाहान बागमति प्रदेश स्वास्थ्य मन्त्रालयबाट झिकाई सकिएको समेत उनले जानकारी दिए ।

उनका अनुसार बाह्रबिसे नगरपालिकासँग एम्बुलेन्स भएपनि शववाहन थिएन । आर्थिक अभाव झेलेका सर्वसाधारण जनताले प्रयोग गर्न सकेका थिएन । यसैलाई ध्यानमा दिएर स्थानीय सरकारले नगरसभाबाट यो निर्णय गरिएको उनले सुनाए । सिन्धुपाल्चोक जिल्लाको १२ स्थानीय तहमध्ये बाह्रबिसे नगरपालिकाको पहिलो प्रयास भएको उनको दावी छ ।

सर्वसाधरण तथा महिला सुत्केरी हुँदा अस्पताल पुर्याउन एम्बुलेन्स र कुनै कारणले मृत्यु भएकालाई दाहसंस्कारका लागि शववाहन प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

बाह्रबिसे नगरपालिकाको १३ औँ नगरसभामा नगरले आर्थिक बर्ष २०८०÷०८१ को लागि ६० करोड २० लाख १ सय ८९ रूपैयाँ ९९ पैसा बजेट बिनियोजन गरेको हो ।