तातोपानी भन्सारबाट न्यून राजस्व असुली

जेठ ११, तातोपानी । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष ०७९÷८० वार्षिक लक्ष्य ४ अर्ब ३२ करोड ९५ लााख ७५ हजार रहेकोमा बैशाख महिना सम्मको असुली २ अर्ब ५४ करोड १४ लाख २ हजार ४ सय ८२ संकलन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार बैशाख सम्मको लक्ष्य ३ अर्ब ८१ करोड ४५ लाख ७० हजार रहेको थियो ।
हालसम्म ६६.६६ प्रगति भएको उनले बताए । गत सालको तुलनामा केही प्रतिशत प्रगति देखिएपनि खासै प्रगति हुन नसकेको उनले बताए ।

स्मरण रहोस २०७२ को भुकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । दुई वर्ष अघि असार २ गतेको बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग कोदारी र लिपिङ पुल भासिएपछि अझै सञ्चालनमा आउन सकेको थिएन ।
निर्यातमा प्रगति शून्य
उत्तरी नाका तातोपानी नाकाबाट बैशाख १८ अर्थात मे १ देखि दुई तर्फी रुपमा सञ्चालन खुल्ला गरिए पनि निरन्तरता पाउन सकेन । जुन दिन निर्यात खुल्यो त्यो दिन देखि एक कन्टेनर पनि सामान चिन तर्फ निर्यात नभएको भन्सार प्रमुख केसी बताउँछन् ।
गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुचारु भएको थियो । निर्यात खुलेपनि चिन तर्फ पठाउने सामाग्री नहुँदा व्यापारीहरुले पठाउन नसकिएको उनले बताए ।