तातोपानी नाकाबाट भित्रियो झण्डै १५ हजार टन रासायनिक मल
ज्वाला संवाददाता
जेठ ११, तातोपानी । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरू भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल आयत गरिने मध्ये झण्डै १५ हजार टन रासायनिक मल भित्रिएको हो ।
तातोपानी नाकाबाट बिहिबार सम्म १४ हजार ६ सय टन रासायनिक मल भित्रिएको सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख रमेश शेर्पाले जानकारी दिए । उनका अनुसार यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट ट्रेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाई सकिएको हो ।
साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको हो ।
केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको शिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पाले बताए । उनले तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १ सय टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने गरी तयारी गरेको बताए ।
उनका अनुसार बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको छ । तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टेनर ल्याएको उनले बताए ।
सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने समेत उनले बताए । सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिने गरी आयात गरिरहेको उनको दावी छ ।
भन्सारमा आएको मलको परीक्षण प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई बुझाउन सकिने उनले बताए ।