
सिन्धुपाल्चोकको ठोकर्पामा १० शैयाको आधारभुत अस्पताल निर्माण, स्थानीयमा छायाे खुशी

जेठ ५, ठोकर्पा । जिल्लाको सुनकोशी गाउँपालिका–१ ठोकर्पा बासीले १० शैयाको आधारभुत अस्पताल पाएका छन् ।
उक्त आधारभुत अस्पतालको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बिहिबार उदघाटन गरी समुदायलाई हस्तान्तरण गरेका हुन् ।
सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसनको सहकार्यमा ठोकर्पामा निर्माण भएको उक्त अस्पतालको उदघाटन पछिको मन्तव्य दिंदै स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालका लागी एम्वुलेन्स उपलब्ध गराउननुका साथै अस्पतालको स्तरोन्नती र आवस्यक उपकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री बस्नेतले आफूले कोरोना माहामारीको बेलामा जिल्लामा अक्सिजन प्लान्टको स्थापना गर्नुका साथै ६१८ स्वास्थ्यकर्मीको कोभिड बिमा गरिदिएको दावी गरे । हरेक अस्पतालको स्तरोन्नती गर्नुका साथै स्वास्थ्य बिमा प्रभावकारी बनाई स्वास्थ्य उपचार नपाएर कसैको ज्यान नजाओस भनेर काम गर्ने उनले प्रतिवद्वता जनाए । पैसाको अभावमा उपचार नपाएर कोहि मर्न पर्ने अवस्थाको अनत्य गर्ने तर्फ आफू लागी परेको समेत उनले बताए । त्यस्तै किसानहरुका लागि मल नपाउने समस्या अन्त्य गर्न नेपालमै यसै वर्षबाट रासायनिक मल बनाउने कारखाना खोल्न क्याविनेटमा पनि प्रस्ताव गरेको उनले बताए ।
त्यस्तै सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले सुनकोसी सरकार एकजुट भएर बिकास निर्माणमा लाग्ने बताउँदै अत्याधुनिक स्वास्थ्य सेवा अब गाउँकै अस्पतालबाट पाइने पाईने विश्वास दिलाए । त्यस्तै गाउँपालिका उपाध्यक्ष कान्छी लामा जेष्ठ नागरिकको सफल मोतियाविन्दुको उपचार भएको बताउँदै गाउँपालिका नागरिकको सेवामा तयार रहेको बताईन ।
यस्तै गाउँपालिकाका पुर्व अध्यक्ष श्रवण कुमार जिसिले स्टेचरमा बिरामी बोकेर सुकुटे लैजाँदा धेरै असहज भएको बिगत सम्झँदै अहिले यहि सेवा सुविधा पाइएको र अस्पताल निर्माणका लागी आफ्नो पनि भुमिका रहेको दावी गरे ।
१० सैयाको उक्त अस्पतालबाट २ जना एमडी डक्टर सहितको जनशक्तिले एक्सरे, ल्याव, डेन्डल सेवा, आँखा जाँच सेवा लगायतको सेवा उपलब्ध गराइरहेको एक एक पाईला फाउन्डेशनका अध्यक्ष सुमन समसेर थापाले जानकारी दिए ।
कार्यक्रमका सभापती अस्पताल ब्यबस्थापन ब्यबस्थापन समिति अध्यक्ष नेत्र बहादुर कार्कीले सामान्य पोलिक्लिनिकको सेवा दिन खोलिएको केन्द्र अहिले अस्पतालमा परिणत भएको र ६० वर्ष माथिका अशक्त नागरिकलाई निशुल्क सेवा दिने बताए । अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गरिने उहाँले जानकारी दिए । ३ करोड ८३ लाखको लागनिमा निर्मित लिफ्ट सहितको उक्त अस्पतालबाट ४५ हजार बढी नागरिकले सेवा लिने उक्त अस्पताल प्रशासनले जनाएको छ ।