मुख्यमन्त्रीले भने–‘विपद रोक्न स्थानीय जनप्रतिनिधिहरुले डोजर लगाउँदैनौं भन्ने प्रतवद्वता गर्नुपर्छ’

जेठ २, सुकुटे । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बाढीपहिरो प्रकोप आउनुमा सडक निर्माणमा प्रयोग गरिने डोजर लगाएत मेसिनहरु कारक रहेको बताएका छन् । मंगलबार सुकुटेमा विपद सम्बन्धी बृहत छलफल कार्यक्रममा आईपुगेका मुख्य मन्त्री जमकट्टेलले सर्वप्रथम जनप्रतिनिधिहरुले विपद ग्रस्त क्षेत्रहरुमा डोजर लगाउँदैनौं भन्ने प्रतिवद्धता जनाउन पर्ने धारणा राखे ।

विपद सम्बन्धी छलफल कार्यक्रम कार्यक्रमलाई सम्वोधन गर्दै बागमति प्रदेश मुख्यमन्त्री शालिकराम जमकट्टेल

विपद निम्त्याउने आफैं कारक रहेको बताउँदै मुख्यमन्त्री जमकट्टेलले भने, ‘विपद केही मात्रमा कम गर्ने हो भने स्थानीय जनप्रतिनिधिहरुले पहिलो कुरा विपदका क्षेत्रहरुमा डोजर लगाएर बाटो खन्दैनौं भन्ने प्रतिवद्धता गर्न जरुरी छ ।’
स्थानीय सरकारले प्रकृतिलाई खलबल हुनेगरी डोजर प्रयोग गरेर सडकका नयाँ ट्रयाकहरु नखोल्न समेत उनले आग्रह गरे ।
बागमति प्रदेशका १३ वटा जिल्ला मध्ये विपदग्रस्त क्षेत्र सिन्धुपाल्चोकलाई सबैभन्दा बढी प्रदेशले बजेट पठाएको दावी गर्दै मुख्यमन्त्री जमकट्टेलले आगमी आर्थिक वर्ष देखि प्राकृतिक प्रकोपका विपदजन्य घटना आउनु अगवै जिल्लामा रकम पठाईदिने बचन दिए । विगतमा सिन्धुपाल्चोकमा प्राकृतिक प्रकोप आउँदा बागमति प्रदेशले ७ करोड ४२ लाख बजेट पठाएको बताउँदै मुख्यमन्त्री जमकट्टेलले मेलम्ची बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार निर्माणका लागि बागमति प्रदेशको लगानीमा ४ करोडको काम सकिएको र १५ करोडको काम भईरहेको जानकारी दिए ।

साउन १ देखि १३ वटै जिल्लामा एकिकृत कार्यालय राख्ने जनाकारी दिंदै मुख्यमन्त्री जमकट्टेलले ५० लाखको योजना मात्रै प्रदेश सरकारले हेर्ने र त्यो भन्दा तलको योजनामा कुनै हस्तक्षेप नगरिने प्रतिवद्धता जनाए ।
सिन्धुपाल्चोक जिल्लाका ४ सय सडकको जिम्मा बागमति प्रदेश सरकारले लिएको बताउँदै मुख्यमन्त्री जमकट्टेलले राजश्वबाँडफाँडमा पहुँचको आधारमा नभई आवश्यकताको आधारमा वितरण गरिने ठोकुवा गरे । आउँदो आर्थिक वर्ष देखि दहत्तरबहत्तरको ठेक्कामा स्थानीय सरकारले जिल्ला समन्वयसंग समन्वय गरेर दररेट तोक्न सकिने समेत उनले जनाउ दिए ।
स्थानीय सरकार सबभन्दा शक्तिशाली र स्वयत्त सरकार भएको कारणले शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा पहिलो प्राथमिकता दिन उनले सुझाब दिए । कृषिमा अहिले सम्म गरेको लगानी खेर गएको प्रति ईगित गर्दै मुख्यमन्त्री जमकट्टेलले बागमति प्रदेशका ११ जिल्लामा उत्पादनको मोडेलको रुपमा विकास गरिने गरी बजेट निर्माण गर्ने बताए ।

कार्यक्रममा बागमति प्रदेशका आन्तरिक तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद पूर्व तयारीको लागि बागमति प्रदेश सरकारद्धारा स्थानीय सरकारहरुलाई खर्च गर्ने अधिकार सहित बजेटको व्यवस्थापन गर्न लागिएको जनाउ दिए ।
बागमति प्रदेशका १३ जिल्ला मध्ये सबैभन्दा बढी लगानी सिन्धुपाल्चोकका भएको दावी गर्दै मन्त्री श्रेष्ठले विपद न्युनिकरण सम्बन्धी संस्कृतिको विकास गर्न आवश्यक रहेको औंल्याए ।

त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ सांसद माधव सापकोटा ‘सुवोध’ले प्राकृतिक प्रकोप पछि सस्तो लोकप्रियताको लागि राहतको नाममा चाउचाउ र विस्कोट बाँढ्ने परिपाटीको अन्त्य गर्दै विपदको पूर्व तयारी तथा विपद पछि उद्धार, राहत र सयोगमा रचनात्मक र प्रभावकारी ढंगबाट काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बागमति प्रदेश सांसद सरल सहयात्री पौडेल, जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ लगाएतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमका सभाअध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार न्यौपानेले प्राकृतिक वातावरणलाई सन्तुलित नमिल्याई गरिएको विकास निर्माणको कामले विपद निम्तन सक्ने औंल्याउँदै भू–गर्भिक अध्यायनका आधारमा बस्ती विकास गर्न पर्ने धारणा राखे । विपदको रेस्क्युका लागि आवश्यक कानुनको जरुरत रहेको बताउँदै प्रजिअ न्यौपानेले प्रदेशले कानुनी जटिलताहरुलाई फुकाईदिइएर जिल्लालाई अधिकार दिनुपर्ने तर्क राखे ।