दुधमा आत्मनिर्भर बनाउने तयारीमा चौतारा साँगाचोकगढी नगरपालिका, अनुदान पछि किसान उत्साहित

दिनेश दुलाल
जेठ ३, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुविण्डेका होमनाथ नेपालले बिगत ४ वर्ष देखि गाईभैंसीको फाम सञ्चालन गरिरहेका छन् । उनको फाममा अहिले गाईभैंसी दुुहुनो ८ वटा र पाडापाडी तथा बाच्छाबाच्छी समेत गरी डेडदर्जन छन् भने माउ जति सबै गर्भिणी रहेको उनी बताउँछन् ।

कुबिण्डेका किसान होमनाथ नेपालले सञ्चालन गरेको गाई तथा भैंसी फाम

खोर निमार्णमा १० लाख खर्चेका उनले भैंसी खरिदका लागि ४ लाख ८० हजार र गाई खरिदका लागि २ लाख ८० गरी कुल झण्डै २० लाख व्यक्तिगत लगानी गरेका छन् ।

व्याएको सिजनमा दैनिक ६५÷लिटर सम्म उत्पादन निकाल्ने नेपालले सबै खर्च कटाएर मासिक ३५ देखि ४० हजार खुद आम्दानी भएको सुनाए । खाडी मुलुकको तातो रापमा पसिना चुहाएर कमाईने खर्च आफ्नै देशमा गाईभैंसी पालेर आम्दानी गर्न सकिने उनी बताउँछन् ।

कुबिण्डे दुग्ध सहकारी मार्फत चौतारा बजारबासीलाई दुध बिक्री गरिदै

दुधमा नगरपालिकालाई आत्मनिर्भर घोषणा गर्ने तयारीमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले दुध उत्पादनका लागि पशुपालक किसानहरुलाई खोर निर्माण देखि दुध उत्पादन लगाएतमा अनुदान दिएको छ । यसले किसानहरुलाई केही मात्रमा राहत मिलेको नेपाल बताउँछन् । सोही अनुसार नेपालले खोर थप व्यवस्थित गर्नको लागि नगरबाट एकलाख अनुदान प्राप्त गरेको सुनाए ।
उनका अनुसार नगरले किसानको लागि प्रतिलिटर ३ रूपैया सहकारी मार्फत दिने गरेको छ भने यसपटक नगरप्रमुख कृष्णप्रसाद सापकोटाले ४ रूपैया दिने वचन दिएपछि किसानहरु उत्साहित भएका छन् ।

त्यस्तै नगरले प्रत्येक किसानको पशु बीमा गरिदिएको छ । १४ सयमा सातसय मात्र किसानले तिर्नु पर्छ । गत साल देखि नगरले पशु सुत्केरी भत्ता समेतको व्यवस्था गरेको छ । नेपालले ६ वटा पशुको सुत्केरी भत्ता वापत २५ हजार बुझेका छन् । कुटानी पिसानी मिल प्रदेशबाट १६ हजार तथा नगरबाट जाडो महिनाको लागि ५० प्रतिशत अनुदानमा म्याट पाएका छन् । उनी जस्तै सिमपानीका टीकाप्रसाद शर्माले पनि गाई फाम सञ्चालन गरेर सोही अनुसारको सुविधा लिईरहेका छन् । कुविण्डेमा मात्रै दैनिक २००० दुध उत्पादन हुने कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक समेत रहेका नेपाल बताउँछन् ।

सोही सहकारी मात्र चौतारा बजारमा दैनिक २०० देखि ३०० लिटर सम्म दुध विक्री हुने गरेको उनले सुनाए । एकसय रुपैंयामा ताजा र खाँटी दुध खानपाएपछि पोका र पाउडर दुधको सम्झना नै हराएको चौतारा बजारका व्यवसायी श्यामकृष्ण श्रेष्ठ बताउँछन् । यसबाट आएको फाईदाबाट शेयर सदस्यलाई लिटरमा दुईरूपैया थपेर दिने गरेको नेपालको भनाई छ । त्यस्तै प्रदेशले १ रूपेया ६३ पैसा दिएको छ भने सहकारीको २ रूपैया थप गरेर जम्मा ६ रूपैंया पैसा किसानले पाउँछन् । तर डिडिसिले दिने बाहेकनै सोझै किसानले ६ रुपैंया प्राप्त गर्ने संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटा बताउँछन् । नगरले दुध उत्पादनको लागि किसानलाई पाडापाडी तथा गाईभैंसी पालक कृषकका लागि कार्यविधि नै बनाएर सापटी अनुदानको कार्यान्वयनको प्रक्रियामा रहेको ११ नम्बर वडा अध्यक्ष तथा कार्यविधिका संयोजक रोशन गिरीको भनाई छ ।

२०७२ सालको भूकम्प पछि धेरै मात्रमा गाईभैंसी लगाएत चौपाय मरेपछि दुधको उत्पादन घटेपनि पछिल्लो समय चौतारा साँगाचोकगढी नगरपालिकामा सन्तोषजनक रहेको नगर पशुशाखा अधिकृत अर्जुन बहादुर खड्का बताउँछन् ।

उनका अनुसार गत सालको चौतारा साँगाचोकगढी नगरपालिका भित्र मात्रै सहकारी मार्फत डिडिसीमा गएको दुध १० लाख लिटर गएको तथ्याङ्क छ । दैनिक २ हजार ८ सय लिटर मात्रै दुध उत्पादन भएको तथ्याङ्क देखिएपनि यो भन्दा बढी सहकारीमा नै नगई किसानले सोझै होटल तथा व्यक्तिहरुलाई विक्री गरेको हुनसक्ने पशु शाखा अधिकृत खड्का बताउँछन् । यो आर्थिक वर्षमा मात्रै नगरले दुधमा अनुदान दिएर किसानलाई २८ लाख वितरण गरेको उनले सुनाए ।

नगरपालिकाले व्यवसायिक फाम दर्ता गर्न लगाएर अनुदानको व्यवस्था गरिएको उनले बताए । नगरले प्रति पशु २० हजार अनुदान दिनको लागि ५ वटा भन्दा माथि पालन र गर्भवती तथा दुहुनो हुनुपर्ने प्रावधान राखेको छ । उनका अनुसार यस्ता फामहरु नगरमा २५ वटा रहेका छन् ।

नगरले ८०० वटा गाईभैसीको बीमा गरिसकेको र बाँकी प्रक्रियामा रहेको उनले सुनाए । त्यस्तै दुई लाख पशुधनीको दुर्घटना बीमा नगरले गरिदिन्छ भने गाईभैंसीको मृत्यु भएमा ९० प्रतिशत क्षतिपूर्ति किसानले पाउँछन् । नगरले साउन यता बैशाख सम्म ५ सय ५० वटा गाईभैसीलाई सुत्केरी भत्ताबापत १३ लाख किसानहरुलाई वितरण गरिएको उनले बताए ।

चार स्थानमा पशु घुम्ति शिविर राखिसकेको नगरले घाँँसको बिउ अनुदान, प्रजननका लागि नश्ल सुधार कार्यक्रम लगाएत किसानमुखी कार्यक्रम गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बताए । चौतारा साँगाचोकगढी नगरपालिका दुध र कुखुराको मासुमा आत्मनिर्भर भएको उनले बताए । औपचारिक रुपमा घोषणा गर्नको लागि त्यसका आधारहरु तयार गरेर मात्र एक वर्षभित्रै गरिने उनले जानकारी दिए ।

स्मरण रहोस १४ वटा वडा रहेको यस नगरपालिका भित्र ११ हजार १ सय ११ घर परिवार छन् भने २०७८ को घरधुरी सर्वक्षण अनुसार ४२ हजार ६ सय ६८ जनसंख्या रहेको तथ्याङ्क छ ।