जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधी सिन्धु योङ्ग स्टारलाई

बैशाख २९, मेलम्ची । मेलम्चीमा सम्पन्न जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधी सिन्धु योङ्ग स्टार ए मेलम्ची ९ ले हात पारेको छ । फाइनलमा मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ्ग स्टारले उपाधी हात पारेको हो । मेलम्ची ९ ले दुवाचौरलाई २५–२०, २५–१८ र २०–२५ तथा २५–१६ ले पराजित गरेको हो ।

उपाधी सँगै मेलम्ची ९ ले २ लाख नगद हात पारेको छ भने मेलम्ची ७ दुवाचौरले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै बनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सृजनशिल युवा क्लव दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै बनकाली तेस्रो भएको हो । उसले ७५ हजार रुपैयाँ नगद पाएको छ । खेलाडीहरुलाई नगद, ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा २५ गतेबाट सुरु भएको प्रतियोगिताको समापन नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो ।

समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले खेलाडीहरुलाई हौसला प्रदान गर्दै राज्यले खेलाडीप्रति उच्च सम्मान गर्नुपर्ने बताए । खेलाडीहरुको आफ्नै लगानीमा, आफ्नै गाउँँमा पनि उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु रहेको भन्दै त्यस्ता खेलाडीहरुको लागि राज्यले प्रोत्साहन गरने बताए ।

प्रतियोगितामा अनुशासित टिम मेलम्ची २ घोषित भयो भने बेस्ट डिफेन्डर सुसान गिरि, बेस्ट सर्बर मेलम्ची ७ का खेलाडी संगम तामाङ, बेस्ट सेटर सिन्धु योङ स्टारका राम गिरि उत्कृष्ट नबोदितमा मेलम्ची ७ का सुरेश तामाङ, बेष्ट ब्लकरमा सिन्धु योङ स्टारका सुरज खड्का, उत्कृष्ट स्पाइकर मेलम्ची ७ का रोशन तामाङ र उत्कष्ट खेलाडीमा प्रतियोगिताको उत्कृष्ट खेलाडीमा सिन्धु योङ स्टारका रमेश खतिवडा घोषित भएको क्लवका अध्यक्ष महाबीर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पूर्व खेलाडी, पत्रकार, सुरक्षाकर्मी लगायतलाई सम्मान गरिएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि बस्नेत, बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समीर, आयोजक समितिका सागर श्रेष्ठ, प्रकाश सापकोटा लागायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।