६ वर्ष पुग्न लाग्दा समेत पुरा हुन सकेन चौताराको मिनि रंगशाला
बैशाख १५ (२०८०), चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रंगशाला थालनी भएको ६ वर्ष पुग्न लाग्दा समेत पुरा हुन सकेन् । टुँुडिखेल मैदान भत्काएर २०७६ सालमा निर्माण थालिएको मिनि रंगशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णता पाउन नसकेको स्थानीय युवाहरुको भनाई छ ।
रंगशाला नहुँदा ६ वर्ष सम्म जिल्लामा खेललकुदका गतिविधि ठप्प रहेको जिल्ला फुटबल संगका अध्यक्ष अमृतमान श्रेष्ठ बताउँछन् । उनका अनुसार चौरमा निर्माण सामाग्री र माटो ढुङ्गा थुपारिएको कारण खेलमैदान प्रयोगमा ल्याउन सकिएको छैन् । ‘ठेकदारले निर्माणमा ढिला सुस्ती गरिरहेको छ तर कसैले छिटो निर्माण गर्न चासो दिएको देखिएन’, अमृतमानले सिन्धुज्वालासंग भने । निर्माण व्यवसायीको ढिलासुस्ती चरम भएपछि चौताराका युवाहरुले आफैंले खर्च हालेर मैदानलाई सम्याएका छन् । ‘केही न केही खेलकुदका गतिविधि गर्न प¥यो भनेर हामीले आफैंले खर्च हालेर मैदान सम्यायौं’, लायन्स क्लबका अध्यक्ष सन्देश श्रेष्ठले भने । चौतारा साँगाचोकगढी नगरपालिका–५ अन्र्तगत टुँडिखेलमा बागमति प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री युवराज दुलालले रंगशालाको शिलान्यास गरेका थिए ।
रंगशाला निर्माण भएपछि सिन्धुपाल्चोक जिल्लामा मात्रै नभएर आसापासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले ४१ करोड ६२ लाख २७ हजारको डिपिआर तयार गरी गिरी कन्ट्रक्सनलाई ३ वर्ष सम्पन्न गर्नेगरी निर्माणको ठेक्का दिएको हो । सिन्धुपाल्चोकको गौरवको आयोजना ५ वर्ष पुगी सक्दा समेत ५० प्रतिशत भन्दा माथि पुग्न सकेको छैन् ।
डिपिआरमा उल्लेख गरिए अनुसार रंगशालामा ६ वटा विल्डिङ बन्ने र ६ हजार दर्शकले बसेर हेर्न मिल्ने प्यारासुट निमार्ण हुनेछ । रंगशालाभित्र करिब पाँच सय ओटा पार्किङ गर्न सकिने गरी पार्किङ स्थल समेत निर्माण हुनेछ । तर भवन पाँँचवटा पनि पुरा भएको छैन् ।
निर्माण कम्पनीका प्रोपाईटर कुमार गिरीले कामदार समेत न्युन पठाएर काममा ढिलासुस्ती भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार निर्माण व्यवसायीले निर्माण सामाग्री समेत जथाभावी छरप्रष्ट बनाएका छन् । सर्वसाधारणलाई अस्पताल समेत जान अवरोध बनाई चरम लापरबाहीपूर्ण थालिएको मिनि रंगशाला निर्माणमा राजनैतिक दल तथा स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रशासनले चासो नदिएको चौतारा टुँडिखेल आसपासका स्थानीय बताउँछ् । अब काम कति समयमा सकिन्छ अझै अत्तोपत्तो छैन । यस बारेमा निर्माणको जिम्मा लिएको गिरी कन्ट्रक्सनका प्रोपाईटर कुमार गिरीसंग फोन सम्पर्क गर्न खोज्दा उनले उठाएनन् ।