सीता हाईड्रो पावरद्वारा जुगल घटनाको पीडित परिवारलाई १० लाख सहयोग
बैशाख १४, चौतारा । जुगल गाउँपालिका वडा नम्बर ३ स्थित न्यासिम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको सीता हाईड्रोपावर कम्पनी लिमिटेडले करेन्ट लागेर ज्यान गुमाएकी नुर्जी वाङमु लामाकी परिवारलाई आर्थिक सहयोग दिने भएको छ ।
घटना भएको करिब २ महिना सीता हाईड्रोपावरले सोमबार मृतक नोर्जिको परिवारलाई सहानसभूति स्वरुप १० लख रुपैंया प्रदान गर्ने सहमति भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए । उनका अनुसार उक्त रकम बैशाख १८ गतेभित्र आफ्नो रोहबरमा उपलब्ध गराउने दुईपक्षबीच सम्झौता भएको हो । नोर्जीको २०७९ साल फागुन १५ गते सोमबार विहान जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा नेपाल विद्युत प्राधिकरणको लाईन सट भई घटना स्थलमा मृत्यु भएको थियो । घटनापछि आक्रोसित स्थानीय समुहले हाईड्रोपावरमा तोडफोड गरेका थिए ।
उक्त घटनालाई लिएर भएको विवादमा जुगल गाउँपालिकाको रोहबरमा सोमबार राजनैतिक दलहरुको प्रतिनिधि सहितको उपस्थितिमा ६ बुँदे सम्झौता भएको अध्यक्ष स्याङबोले जानकारी दिए ।
जसअनुसार सिता हाईड्रो पावरले स्थानीय २२ जना विरुद्व जिल्ला अदालत चौतारामा गरेको मुद्दा तत्काल फिर्ता लिन कानुनी प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने, स्थानीय मिकमार दोर्जे लामा र अभि तामाङको नाममा सीता हाईड्रोपावर कम्पनीले २ करोड ७७ लाख ३० हजार २ सय बराबरको क्षतिपूर्ति दावी गरी जिल्ला अदालतमा दर्ता भएको मुद्दा तत्काल फिर्ताको लागि प्रक्रिया अगाडि बढाउने सम्झौता भएको हो । त्यस्तै सीता हाईड्रो पावरका प्रल्लाद तिमिल्सिनाले मृतक नोर्जि वाङमु लामाको परिवारलाई सहानसभूति स्वरुप १० लख रुपैंया बैशाख १८ गतेभित्र पालिका अध्यक्षको रोहबरमा उपलब्ध गराउने निर्णय भएको हो ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणको प्रसारण लाईनबाट सीता हाईड्रोपावरमा लगेको लाईन व्यवस्थित गरी लैजाने र र ७ नि भित्र नेपाल विद्युत प्राधिकरणको प्राविधिबाट विद्युत लाईन सुरक्षित भएको प्रमाणित भएपछि मात्र विद्युत सुचारु गर्ने निर्णय भएको हो । त्यस्तै सीता हाईड्रोपावरले वातवणीय प्रभाव मूल्याङकन (इआइए) जुगल गाउँपालिकामा बुझाउने र जनतामा सार्वजनिक गर्ने समेत निर्णय भएको हो । त्यस्तै हाईड्रो पावरमा हुने रोजगारीका कामहरुमा समेत गाउँपालिकासंग समन्वय गरी अवसर दिलाउने सहमति भएको हो ।
सोमबार जुगल गाउँपालिकामा भएको सम्झौतामा सीता हाईड्रको सञ्चालक प्रल्लाद तिमिल्सिना तथा स्थानीय संघर्ष समितिका संयोजक चीनलाल तामाङ र मृतकका बुबा मिङमार दोर्जे लामाका बीचमा सम्झौता भएको थियो भने पालिका अध्यक्ष रेशम स्याङबो र उपाध्यक्ष हिमाल श्रेष्ठको रोहबरमा भएको हो ।
यसैबीच मृतक नोर्जीकी परिवारलाई पालिकाको तर्फबाट थप एक लाख सहयोग प्रदान गरिने गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिए ।