सिन्धुपाल्चोकमा चोरीका घटना वृद्वि, गएराती ठूलोसिरुवारीमा ३ सहकारी र २ पसल चोरी

दिनेश दुलाल
बैशाख १२, (२०८०) चौतारा । सिन्धुपाल्चोकमा एकै पटक आधा दर्जन चोरीका घटना भएपछि सिन्धुपाल्चोकबासी त्रसित भएका छन् । भोटेकोशी गाउँपालिकामा चोरीका घटना भएको केही साता नवित्दै सदरमुकाम नजिकै रहेको ठूलोसिरुवारीमा गएराती ३ सहकारी, २ पसल र एक विद्यालय समेत एकै पटक चोरी भएपछि स्थानीय त्रसित बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा चोरीको उजुरी दर्ता गर्न गएका समाज रुपान्तरण लगाएत टोली

सोमबार राती चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीमा रहेको समाज रुपान्तरण बचत तथा ऋण सहकारी संस्था लि.बाट १२ लाख ७० हजार र सोही वडाको नर्सिङ डाडाँमा रहेको आलोपालो बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि. बाट ३ लाख १९ हजार चोरी भएको त्याहाँका स्थानीयले बताएका छन् ।

समाज रुपान्तरणको काउन्टरबाट ७० हजार चोरी भएको तर सेफमा राखिएको १२ लाख भने सेफको साँचो नभेटिएकोले एकिन नभएको समाज रुपान्तरणका अध्यक्ष टीकाबहादुर श्रेष्ठले जानकारी दिए । सेफ खोल्न काठमाडौंबाट प्राविधिक मगाईसकिएकोले बेलुका सम्म चारी भएको रकमको एकिन विवरण आउने उनले बताए । उनका अनुसार चोरले सहकारीको मुल ढोका खोली दराज लगाएत ठाउँहरु फुटाएको थियो । सोमबार कर्मचारीले सेफको साँचो सहकारीको अफिसमै छाडिएको उनले बताए ।

यस्तै सोही राति आलोपालो सहकारीको काउन्टरबाट ७१ हजार ८ सय ८०, मल बिक्रीबाट आएको रकम ४७ हजार ७ सय ५० र झोलामा राखिएको २ लाख गरी ३ लाख १९ हजार ८ सय ८० रुपैंया चोरी भएको आलोपालो सहकारीका प्रवन्धक लिलाबहादुर गिरी ‘सन्तोष’ ले जानकारी दिए । उनका अनुसार चोरले सिसि क्यामारा तोडफोड गरी मुल ढोका फोरेको थियो ।

त्यस्तै सोही राती नर्सिङडाँडामा लालबहादुर श्रेष्ठको मासु पसलबाट ९ हजार ५ सय र सोहीका सूर्यबहादुर तामाङको पसलबाट ९ हजार रकम र सुनको मुन्द्रा चोरी भएको स्थानीय सूर्यबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तै सोही राती साना किसान कृषि सहकारी र विपि आधारभुत विद्यालय तोडफोड भएपनि धनमाल भने केही नभएको विपि आधारभूतका प्रध्यानध्यापक प्रकाश गिरीले जानकारी दिए ।

चोरी भएका दुवै सहकारीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मंगलबार दिउसो उजुरी दिएका छन् । घटना स्थलमा बिहानै प्रहरी प्रमुख सहितको टोली गएको थियो । घटनालाई शुष्म अध्यायन थालि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बालनरसिंह राणाले जानकारी दिए । स्मरण रहोस एकसाता अघि मात्रै भोटेकोशी गाउँपालिकामा चोरीको घटना भएको थियो ।