रसुवागढी–केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा खुल्दै, तर तातोपानी नाका भने गुमनाम
दिनेश दुलाल
२०७९ चैत्र १६, तातोपानी । सर्वसाधारण जनताको आवतजावत सहज हुनेगरी रसुवागढी÷केरुङ नाका खुल्ने भएको छ । छिमेकी दुई मुलुकको लागि दुईतर्फी व्यापार र पूर्णरूपमा सञ्चालन गर्ने गरी नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधबार बसेको पहिलो बैठकमा सो सहमति भएको हो । तर अरनिको तथा भृकुटी चीन गएको प्रवेशद्वारको रुपमा रहेको ऐतिहासिक सिन्धुपाल्चोकको तातोपानी नाका भने गुमनाममा परेको छ ।
अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसरमा सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी÷केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र सर्वसाधारण जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएपनि तातोपानी नाकाको बारेमा कुनै जानकारी नभएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए ।
रसुवागढी नाका संगै तातोपानी नाका पनि खुल्ने बाहिर हल्ला आएजस्तो कुनै सत्यता नभएको भन्सार प्रमुख केसीको भनाई छ । ‘तातोपानी नाकाको लागि कुनै निर्णय भएको कुरा जानकारी छैन’, केसीले भने । उनका अनुसार वाणिज्य सचिवको नेतृत्वमा बनेको संयन्त्रको वैठकमा भन्सार विभाग प्रमुख समेत छन् । संयन्त्रको बैठक बुधबार बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको थियो । बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो । तर भन्सार विभाग प्रमुखबाट तातोपानी नाका खुल्ने बारेमा आफूलाई कुनै जानकारी नभएको केसीको भनाई छ । रसुवागढीमा बैशाख १८ गते भव्य कार्यक्रम गर्ने तयारी भएको उनले सुनाए । मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि सुचारु हुनेछ । दुवैतर्फ पासको व्यवस्था हुनेछ । पास लिएर सर्वसाधारण पनि केरुङ सम्म र चिनियाँ नागरिक रसुवासम्म आउन पाउनेछन् । मानसरोवर जाने यात्रुहरु समेत केरुङ नाका हुँदै जानेछन् । भूकम्प अघि भारत लगाएत छिमेकी मुलुकका नागरिक तातोपानी नाका हुँदै मानसरोवर जाने गर्दथे । तर यो नाका भने आवातजावतका लागि चिनिया पक्षले पूर्ण रुपमा बन्द गरेको छ ।
चीनसँग व्यापारको महत्वपूर्ण तातोपानी नाका बन्दसँगै यस क्षेत्रमा मात्र होइन नेपालकै व्यापारिक कारोबार प्रभावित भएको थियो । जुरे पहिरो, भूकम्प र भोटेकोशी बाढीले तहसनहस बनाएपछि लामो समय बन्द भएको तातोपानी नाका तातोपानी नाका ‘मे’ दिवस अर्थात् २०७७ वैशाख १६ बाट खुलाउने गरी तत्कालिन चिनिया र तत्कालिन सभामुख अग्निप्रसाद सापकोटा सरिक भएर भव्य कार्यक्रम गरिएपनि आंशिक रुपमा मात्र नाका खुल्न सक्यो । अहिले सम्म सीमा क्षेत्रमा कुनै चहलपहल छैन सीमा क्षेत्र सुनसान छ । तातोपानी नाका पूर्ण रुपमा सञ्चालनको लागि विगतमा कयौं पटक प्रयास गरेपनि सफल हुन नसकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्यसंघका अध्यक्ष होम बहादुर बस्नेत ‘राजकुमार’ बताउँछन । तातोपानी नाका खोल्न चिनियाँ पक्षले नै नचाहेको उनको तर्क छ । यता सिन्धुपाल्चेकका राजनैतिक दल तथा नेताहरु भने जनतालाई पटक–पटक नाका खोलिदिने आश्वासन दिएर जस लिने होडबाजीमा छन् । तर नेताहरुमा कुनै दम नभएको स्थानीयको आरोप छ ।