सुधारिदै चौतारा अस्पताल, देशकै उत्कृष्ट घोषित

चैत्र १०, चौतारा । बिरामीहरुको लागि ‘रिफर सेन्टर’ भनेर आरोप खेपिरहेको चौतारा अस्पताल पछिल्लो समय सुधारिदै गएको छ ।
चौतारा अस्पताल न्यूनतम सेवा मापदण्ड अनुगमनमा १५ शैया मध्यको नेपालकै उत्कृष्ठ भएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयवाट मंगलबार र बुधबार भएको अनुगमनमा चौतारा अस्पतालले ८९% अंक प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम हुन सफल भएको छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालय का निर्देशक महेश्वर श्रेष्ठ तथा न्युनतम सेवा मापदण्ड का टोली प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा को पाँच सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा ६ सय ४७ वटा मापदण्ड मध्ये पाँच सय ७६ मापदण्डहरु जसमा सात सय ६१ नम्बर बाट ६ सय ७८ नम्वर प्राप्त गरी देशभरमा नैै उत्कृष्ट नम्बर ल्याउन सफल भएको हो ।

मुल्याङ्कनको क्रममा अस्पतालहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अबस्था हेरेर मुल्याङ्कन गरिएको अनुगमन टोलीका प्रमुख नरेन्द्रकुमार झाले बताए । उनका अनुसार न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सपोर्ट सर्भिसमा २० प्रतिशत गरी कुल जम्मा सय प्रतिशत मध्ये ८९ प्रतिशत ल्याइ नेपालमै १५ बेड क्याटोगोरीमा पहिलो भएको हो । चौतारा अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि निकै सुधारिएको मुल्याङ्कन समितिका संयोजक समेत रहेका झाको भनाई छ ।

न्युनतम सेवा मापदण्डको कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपािलकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आफ्नो नगरभित्र रहेको अस्पतालले सिमित श्रोत साधनको बाबजुत पनि गरेको प्रगतिले अस्पतालको मात्र नभइ नगरको र जिल्लाको समेत नाम राख्न सकेकोमा खुसी व्यक्त गरे । चौतारा अस्पतालले ८९ प्रतिशत ल्याउनु भनेको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण अस्पतालले एक उदाहरण दिएको भन्दै उनले अब बाकि रहेको ११ प्रतिशत काम पनि पुरा हुनेमा सापकोटाले विश्वास व्यक्त गरे ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले अस्पताललाई आफुले नजिकबाट हेरिरहेको बताउदै अस्पतालको बिकास निर्माण तथा सेवा बिस्तारमा हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरिन । थापाले अस्पतालको बारेमा बाहिरवाट आएका गुनासोहरुलाइ छोटो समयमा पुरागरी स्वास्थ्य सेवामा गरेको सुधारवारे प्रसंसा गदै सो कार्यमा लाग्नुहुने सवैलाइ धन्यवाद दिईन ।
बिशेष अतिथि तथा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले अस्पतालको गतिलाई थप प्रभावकारी ढंगवाट संचालन गरी तत्काल ५० शैयामा स्तर उन्नतीका साथ देशको उत्कृष्ठ अस्पतालको रुपमा चिनाउन तिनै तहका सरकारले सहयोग गर्नुपर्ने धाराणा राखे ।

अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिइ अगाडी वढ्ने प्रतिबद्धता जनाए ।
अस्पताल यहाँ सम्म पुग्नुमा अस्पतालमा कार्यरत कार्यालय सहयोगी देखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुको ठुलो भुमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले सहयोगी सबैलाई धन्यवाद दिए । अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र सय अंक ल्याउन ११ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो ।

कार्यक्रममा अस्पतालवाट महिनामा उत्कृष्ठ हुने कर्मचारीहरुलाइ सम्मान पत्र प्रदान गरीएको थियो । सम्मानित हुनेमा कार्यायल सहयोगी तामबहादुर श्रेष्ठ, सहायक कम्प्युटर अपरेटर विवेक श्रेष्ठ, मेडिकल अधिकृत डा. सुसान्त श्रेष्ठ, (स्टाफ नर्स रन्जिता श्रेष्ठ र कार्यालय सहयोगी टिकालाल श्रेष्ठ रहेका छन् । त्यस्तै अस्पतालमा आएका विरामीहरुको विद्युतीय अभिलेख चुस्त दुरुस्त राख्ने ३ शाखाहरुलाई समेत सम्मान गरिएको थियो ।