जातीय छुवाछुत अन्त्यको लागि सचेत प्रयत्नले मात्र सम्भव छ –मेयर सापकोटा
निर्मल बस्नेत –चौतारा
(६ चैत्र २०७९) चौतारा साँगाचोगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले जातिय विभेद तथा छुवाछुत अन्त्यको लागि सचेत प्रयत्नले मात्र सम्भव हुने बताएका छन् । उनले यसको लागि सुझबुझ र विभेगपूर्ण रुपले निरन्तर संघर्षको आवश्यकता औल्याएका हुन् ।
५८ औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा दलित समन्वय समितिले आयोजान गरेको छुवाछुत मुक्त नगर , सम्भावाना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सापकोटाले छुवाछुत मुक्त नगरपालिका बनाउने दिशामा सदैव अग्रसर रहेको बताए । साथै मेयर सापकोटाले बर्गिय आन्दोलनवाट प्राप्त उपलब्धीको रक्षा र विकास पनि त्यतिकै महत्वपूर्ण रहेको तर्क गरे ।
कार्यक्रममा नगर उपप्रमुख सीता थापाले ०५१÷५२ मा भएको जनयुद्ध र त्यसपछिको आन्दोलनबाट शान्तिप्रकृयामा आई संविधान जारी भएपछिको अवस्थामा धेरै परिवर्तन भएको उल्लेख गरिन् । उनले भनिन् यसको जस कसले लिने ? कार्यन्वयन कसले गर्ने ?र स्थायीत्व कसरी दिने भन्ने विषय आजको ज्वलन्त प्रश्न भएको तर्क गरिन् ।
कार्यक्रममा नगरको सामाजिक विकास शाखा प्रमुख रामप्रसाद गौतम, १४ नम्बर वडाध्यक्ष उद्धव नेपाल, राप्रपाका ध्रुव थापा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ र दलित आन्दोलनका अभियान्ता सागर परियारले आफ्नो मन्तव्यसहितको तर्क प्रश्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा छुवाछुत मुक्त नगर , सम्भावाना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै दलित समन्वय समितिका उपाध्यक्ष राम शरण विश्वकर्माले जातिय विभेद तथा छुवाछुत अन्त्य हुनको लागि सरकार र राजनीक दलको ध्यान नगएको , स्थानिय सरकारले नितिमा समावेश गरेपनि कार्यक्रम अगाडी नबढाएको र यो विषय दलित समुदायको मात्र हो भन्ने बुझाई चुनौती रहेको विषय उठान गरेका थिए । नगरपालिकाले वार्षिक निति कार्यक्रम बनाई बजेट छुटया्उने , दलित समुदायको आर्थिक सामाजिक जागरण अभियानात्मक कार्यक्रम गर्नेुपर्ने कार्यपत्रमा उल्लेख गरिएको छ ।
यस्ता कार्यक्रमहरु आयोजना गर्दा गैर दलितहरुको पनि उपस्थिति बाक्लो हुनुपर्ने सहभागी र बक्ताहरु दुवैको एउटै आवाज रहेको थियो । कार्यक्रमा सहभागीले आफुहरु अझै जातिय छुवाछुतको चपेटामा परेको भन्दै दलित र गैरदलित फरक ब्यवाहार भएको भन्दै आपत्ति जनाएका थिए । । उनिहरुले कुकुर घरभित्र पस्न मिल्ने तर मान्छे बाहिरै बस्नुपर्ने यो कहिलेसम्म रहन्छ भन्दै सरोकारवालाको ध्यानाकर्षन गराएका थिए । दलित समन्वय समितिको अध्यक्ष अमर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि , पत्रकार , दलित आन्दोदनका अभियान्ता र दलित समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।