घरेलुले मनायो विश्व उपभोक्ता अधिकार दिवश

निर्मल बस्नेत
(२०७९ चैत्र १, चौतारा । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक चौताराले विश्व उपभोक्ता अधिकार दिवश मनाएको छ ।
बुधवार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि विश्व उपभोक्ता अधिकार दिवश मनाएको हो ।
‘स्वच्छ उर्जा ट्रान्जिसनहरु मार्फत उपभोक्ताहरुलाई सक्षम बनाउँदै’ भन्ने मूल नारा दिएर अधिकार दिवश मनाएको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दिर्घकालिन बिकास योजनासंग जोडेर उपभोक्ता अधिकार र स्वच्छ उर्जा ट्रान्जिसन मार्फत सशक्त बनाउदै लैजाने कदमप्रति सवैको ध्यान जान जरुरी रहेको बताएका छन् ।

सन् १९ सय ६२ मार्च १५ का दिन तत्कालिन अमेरीकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाईलाई उपभोक्ताको चार अधिकारका रुपमा घोषणा गरेका थिए । ऐतिहासिक दिवशको सम्झनामा विश्वभर मार्च १५ का दिन यो दिवश मनाइने गरेको छ ।

उक्त सन्दर्भमा आयोजित चौतारामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, बन डिभिजन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल उपभोक्ता मञ्चको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिएका छन् ।