मैले यसरी सुरुवात गरें अक्षरको व्यापार

जनयुद्व सुरुवात देखिको पूर्णकालिन कार्यकर्ता थिएं म । ३ पटक गरी ७ वर्ष ४ महिना विभिन्न कारागारमा कष्टकर जीवन वित्यो । २०६३ सालको शान्ती पक्रियासंगै जेलबाट छुटेपछि पार्टी सम्पर्कमै आएँ र पार्टीका विभिन्न तहको जिम्मेवारीमा रहेर काम गरें । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन र पहिलो पार्टी बनाउन लाग्यौं । नभन्दै पार्टी पहिलो भयो । एकलौटी नेकपा (माओवादी) को सरकार बन्यो । सरकारमा सामेल हुँदा कयौं साथीहरुले अवसर र रोजगारी पाए । म आफु नभएपनि अरु साथीहरुले पाउँदा खुशी नै थिएँ । किनकी व्यक्तिगत अवसर र फाईदा हाम्रो उद्देश्य थिएन । पार्टीका काममा निरन्तर लाग्नु थियो । चक्रीय प्रणालीमा इलाका इन्चार्ज भएर जिल्ला भर काममा खटिन्थ्यो । संगठन निर्माण गर्नु, भेला वैठकहरु राख्नु अनी चन्दा संकलन गरेर पार्टीलाई बुझाउनु पर्दथ्यो । संगठन निर्माण गरेर होस या चन्दा संकलन गरेर होस सबभन्दा कुन ईलाकाले बढी ग¥यो भनेर प्रतिश्पर्धा गरिन्थ्यो । यसो गर्नुको उद्देश्य पार्टीले सबभन्दा बढी मूल्याङक गरोस भन्ने आकांक्षा नै हो । व्यक्तिगत कुनै लाभको कुरा थिएन । किनकी हामी सबै सर्वहाराकृत हुन्छौ , हाम्रो सम्पति सबै पार्टीकरण वा राष्ट्रिय करण हुन्छ भन्ने थियो । घरमा गयो संधै रित्तो हात जान पर्दथ्यो । घरमा लैजाने कुरा केही थिएन । सिरिफ झोला भरी विभिन्न थरीका राजनैतिक किताब र डायरीले भरिएको हुन्थो । जनयुद्वमा हिडें पछि मैले मेरी आमालाई कहिल्यै एकथान चोली र फरिया किनेर ल्याईदिन सकेको थिईन । छोरो सर्वहारा वर्गको लागि हिडेको भनेपछि मेरी आमाले कहिल्यै केही किनिदे भन्नु भएन । आमालाई थाहा थियो यो संग केही पैसा पनि छैन। यति मात्र भन्नु हुन्थ्यो । दुनियाको लागि मुक्ति दिलाउन हिडेको तँ मेरो लागि कहिले मुक्ति देलास कान्छा ? अरु मसंग भन्ने कुरा केही थिएन । म यति मात्र भन्थे । आमा एकदिन हामी सबैको मुक्ति अवश्य आउँछ । म घरमा पुगेपछि २ बर्षको भुन्टे दौडेर मलाई समात्न आईपुग्थ्यो । मैले झोला बिसाउन नपाउँदै मेरो झोला खोतालखातल पारिहाल्थ्यो । किताव निकालेर छरपष्ट बनाउँथ्यो । त्याँही केही भेट्दैन्थ्यो । अनी मेरो सबै खल्ती छाम्थ्यो । म संग त्यो सानो अनथालाई दिने एउटा चकलेट सम्म हुँदैन्थ्यो । एकछिन केही कुरा सुनाएर भुल्याउँथ्यो । कुनै बेला साँझ परेसी घर आउँदा उसैगरी पापा खोज्थ्यो । बाबू आज मैले काली पापा ल्याईदिएको छ दुधसंग खाउँ है भनेसी लुरुक्क परेर खान्थ्यो र रमाउँदै भन्थ्यो ‘मेरो बाबाले ल्याईदिएको काली पापा ।’
यसरी अभावमै पार्टीको कामका दिन बित्दै गयो । पार्टीमा रोजगारी अवसर र उत्पादनका बारेमा कहिल्यै कुरा भएन । दैनिकी पार्टीका काममा लुरुलुरु किताब भरिएको झोला बोकेर हिड्नुमै बित्यो । पार्टी सत्तामा पुग्यो तर पार्टीले कार्यकर्तालाई बिस्रदै जानथाल्यो । हिजो पार्टीको लागि पूर्णकालिन भएका कयौं कार्यकर्ताहरु बेरोजगार भए । खेतीपाती टन्नै हुनेहरु खेतीपाति र नहुनेहरु ज्यामी गर्न शहर छिर्न थाले । पार्टीको मायाँ र बाध्यता हुनेहरु अल्झिएर बसे । नेताका नजिक र प्रसंसा तथा भक्त हुनेहरु मन्त्रिका पिए, ड्राईभर त कोही पढेलेखेका राजनैतिक न्युक्ति भए । केही बोल्न र भन्न नसक्नेहरु पार्टीकै झोला बोक्न ठिक्क । अलि टाठाबाठाहरु शान्ती प्रक्रिया संगै जनमुक्ति सेनाको आवरणमा प्रमाणिकरण गर्न पनि भ्याए( जो राजनैतिक कार्यकर्ता थिए) । तिनले त्याहाँबाट न्युनतम पाँचलाख देखि १० लाख सम्म हात पारे । जो सकेनन् जो अशक्त थिए उनीहरु जनमुक्ति सेनाको प्रमाणिकरणमा अयोग्य ठहरिय । बिचरा तिनको न घरबार थियो न गरीखाने ठाउँनै ।
मैले व्यक्तिगत जीवन बिताउन पर्छ भनेर कहिल्यै सोचिन । म त सर्वहारावादी पार्टीको पूर्णकालिन कार्यकर्ता भएपछि मलाई सम्पतिको किन लोभ ? मैले व्यक्तिगत जीवनको बारेमा कहिल्यै सोचिन । त्यहि भएर अभाव हुँदैगयो । प्रत्येकको हातहातमा मोबाईल बोक्ने जमाना आयो । मोबाईल बोकेर मात्रै हुँदैन्थ्यो । मोबाईल किनेर मात्र भएन । अरु संग सम्पर्क गर्न पैसा हाल्नप¥यो । खल्तीमा कहिल्यै पैसा हुँदैन्थ्यो ।
दिनभरी पार्टीको काम ग¥यो । खाजा खाना प¥यो भने आज कुन नेताले खुवाला भनेर आशावादी हुनपर्दथ्यो । नेताले पैसा दिने पनि जो आफू संग नजिकका कार्याकर्ता थियो उसैलाई दिन प्रचलन थियो । अलि अलि भएको पैसाको पनि राम्रोसंग पार्टीको आर्थिक विभागमा खर्च विवरण बुझाउने चलन थियो । कहिले काँही यति समस्या हुन्थ्यो की । तत्काल काठमाडौं जानप¥यो भने पनि खल्तीमा खर्च हुँदैन्थ्यो । पैसा नभएर मैले कयौ पटक ड्राईभरलाई गिती चक्का दिएर टारेको छु । काठमाडौंबाट फर्कदा गिती चक्का र साहित्यिक तथा राजनैतिक पुस्तकहरु ल्याएर थोरै पैसामा बेचेर भाडा र खाजाको बन्दोबस्त गर्दथे । दशै आयो पार्टीले दिएको ३ हजारले दशैं खर्च टारेको छु । खर्चमा म निकै सचेत र कन्चुस थिएँ । जेलमा बस्दा बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म खटेर जम्मा मैले २५ रुपैया कमाएर मैले जेल जीवन धान्नु परेको मेरो दिमागमा अझै ताजै छ । धन्न मैले जेलको अवसरलाई सदुपयोग गरेर बिए सम्मको अध्यायन गर्न भ्याए । त्यहि पनि जेलभित्रका असाध्यै क्रान्तिकारी भनाउँदा साथीहरुसंग छिपेर परिक्षा दिनपर्दथ्यो । किनकी हामी क्रान्तिकारीहरुको लागि बिगतमा पढ्नु भनेको बुर्जुवा बन्नु थियो । यहि लैलै मा लागेर कयौं साना कलिला बालबालिकाहरुलाई बुर्जुवा शिक्षा पढ्नु हुँदैन भनेर हिडाईयो । पार्टी भूमिगत हुँदा त युद्वको कारण यो वाध्यत्मक अवस्था थियो होला तर शान्तीप्रक्रिया आउँदा हिजो बुर्जुवा डिग्री भनेर खिसौटी गर्नेहरु लुसुक्क सर्टिफिकेट तिर आर्कषित भए र केही वर्षमै डिग्री हाँसिल गरे । जनयुद्वभित्र बिए पास गर्ने नगन्य मात्रमा म पनि थिएँ । त्यहि पनि कठिन जेल बसाईको सौभाग्य ।
पार्टी शान्तीप्रक्रियामा प्रवेश गरेपछि प्रत्येक नेता कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने केही योजना थिएन । सत्तामा रहेको पार्टी डाडुपुन्यौ आफ्नो हातमा रहेको बेलामा कति पैसा कुन योजनामा लगाउने र केही कार्यकर्तालाई भरथेक गरेर कति पैसा असुल्ने र अर्को चुनावको लागि कति जम्मा गर्ने भन्ने धुनमै पार्टी नेतृत्वको दिमाग लागि प¥यो । अनाधिकृत रुपमा करोडौंको बजेट पर्दथ्यो । अनुत्पादक क्षेत्रमा आएको त्यो बजेट बालुवामा पानी आले सरह हुन्थ्यो । सिमितले प्राप्त गर्दथे । तर तिनको जीवन पनि कहिल्यै माथि उठ्न सकेन । जाहाँबाट आयो त्यतै रित्तियो भने झैं भयो । समाजवादी व्यवस्थाको तयारीमा लागेको भन्ने पार्टीले कहिल्यै समाजवादी अर्थ व्यवस्था उत्पादनसंग जोडिन्छ भनेर नत कार्यकर्तालाई बुझाउन सक्यो न लागु नै ग¥यो । ठूटे नेता देखि उपल्लो नेतृत्व सम्मकाले कहिल्यै उत्पादन संग जोडिएर काम गरेनन् । क्यामराका अगाडि गमलामा पानी हालेको, कौसी खेतीमा तरकारी लगाएको भन्दा श्रम र उत्पादन संग तिनको कहिल्यै साइनो रहेन ।
शान्तीप्रक्रिया पछि पार्टी चुनावपछि चुनावको मात्रै ध्याउन्नमा भयो । सत्तामा रहँदा जनताका अधिकतम एजेण्डाहरु पुरा गर्न सकिने अवस्था समेत गुमायो । जनता फेरी सडकमा ओरालियो (२०६६–०६७) तर बिना तयारी र बिना ऐजेण्डामा आन्दोलनमा होमिदा आन्दोलन क्रमशः शिथिल भयो । यसैको परिणम २०७० सालको चुनावको नतिजा माओवादीको विपक्षमा आयो ।
अब पार्टी ईलाकामा जिम्मेवारी रहँदा जसरी ७ दिनको आन्दोलनको लागि वाईसीयल निर्माण गर्ने काम थियो त्यो अवधि सकिएपछि मेरो जिम्मेवारीमा कलाकार (श्रंखला साँस्कृतिक परिवार) टिम पनि थियो । २२ जना सम्मिलित उक्त टिमलाई व्यवस्थापन गर्न निकै कठिन थियो ।
एक दिन मैले तत्कालिन जिल्ला पार्टी ईन्चार्ज ध्रुव पराजुली ‘सन्तोष’ लाई कलाकारको व्यवस्थापनको बारेमा कुरा राखें तर उहाँले २ महिना आफ्नै घरमा लगेर पाल्नु भनेर ठाडो निर्देशन दिनुभयो । उहाँको भित्री आशय त्यस्तो नभएपनि त्यसले मलाई ठूलो चोट प¥यो । म निकै समय रोहें । किनकी २२ जना कलाकारलाई मैले पाल्न सक्ने कुरा थिएन । म पनि पार्टीमै पूर्णकालिन कार्यकर्ता थिएँ । यो घटनाले मेरो मानसिकतामा ठूलो फेरबदल बनायो ।
भूमिगत कालमा पढ्दै गरेका कयौं स्कुले केटाकेटीहरुलाई हामीले पूर्णकालिन बनाएका थियौं । बुर्जुवा शिक्षा त्यागेर जनवादी शिक्षा प्राप्त गर्ने अभिलाषाले ति कलिला भाईबहिनीहरु माओवादी केन्द्रमा कोही कलाकार, कोही विद्यार्थी, कोही जनमुक्ति सेना त कोही राजनैतिक कार्यकर्ता भएर आन्दोलनमा समावेश भएका थिए । माओवादी जनयुद्व शान्तीप्रक्रियामा आएर आन्दोलनको स्वरुप फेरिएपछि कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पार्टीले सोच्न पर्दथ्यो तर त्यो भएन । सक्नेले गर्ने नसक्ने दोब्रिएर बस्न पर्ने अवस्थामा पार्टीमा पैदा भयो । कार्यलय व्यवस्थापन देखि सबै कुरा भद्रगोल बनीरहेको थियो । पार्टीमै आफ्नो भविश्य छ लागेका विचरा ति कलिला कलाकार भाईबहिनीहरुलाई बरु कुनै विद्यालयमा भर्ना गरिदिने मैले एकल सोच बनाएं । पार्टीमा यो विषयमा कुनै सल्लाहा गरिन किनकी यो विषय राख्दा अवरोध हुने मैले देखेको थिएँ । त्यसकारण कलाकारको लागि ड्रेस किन्न दिएको पैसा स्कुल ड्रेस र किताव कापी किनिदिएँ । टाढा टाढाका केही भाईबहिनी बाहेक अधिकांशले चौतारा नजिक रहेको देउराली स्कुलमा पढ्न थाले । यसको लागि तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङको भूमिका सह्रानीय छ । पढ्ने भाईबहिनीहरुलाई बस्ने रुम, खाद्यन्न लगाएत आवश्यक व्यवस्थापन मिलाएर कलाकार निर्मल बस्नेत भाईलाई रेखदेख गर्ने जिम्मा लगाएर पार्टीकै काममा थिएँ । यो विषमा पार्टीलाई जानकारी नभएको हुनाले तत्कालिन जिल्ला पार्टी सेक्रेटरी माधव सापकोटा ‘सुवोध’संग अलिकति तिक्तता बन्न पुग्यो । किनकी अब पार्टीको कार्यक्रममा नाच्ने गाउने कलाकार थिएनन् उनीहरु देउरालीमा पढ्दै थिए । म प्रति पार्टीको खराब मूल्याङकन गरेपनि यो चाँही ठिकै गरेजस्तो अझैपनि लागिरहेको छ ।
पार्टीमा निरन्तर रहँदा मेरो जस्तै कयौं कमरेडहरुको व्यक्तिगत र पारिवारिक आर्थिक समस्या त छँदै थियो । यसकारण पार्टीभित्र अभावमा बाँचिरहेकाहरुलाई पनि केही गर्न पर्छ भन्ने मेरो मान्यता थियो । सिन्धुपाल्चोकका जिल्ला तहका नेताहरुलाई मैले एकदिन कोटेश्वरमा भेटेर एउटा प्रस्ताव राखें । बेरोजगार बनेका युवाहरुलाई उत्पादन र व्यवसायीकरण मार्फत रोजगारी प्रदान गरौं । तर एकजना जिम्मेवार साथीले यो प्रस्ताव ठाडै अस्विकार गरे । सबै आ–आफ्नो हिसाबमा लाग्नुपर्ने सुझाए । उनको यो कुराललाई मैले प्रतिवाद गर्दै पार्टीले जिम्मेवारी लिन पर्ने कुरा राखे । त्यतिबेला एकजना एमालेका कार्यकर्ता डेकेन्द्र राजवंशी पार्टीले व्यवास्ता गरेकै कारण बल्खु पार्टी कार्यालयमा झुण्डिएर आत्महत्या गरेको घटनाको बारेमा स्मरण गराएँ । ‘के अब माओवादीका कार्यकता डेकेन्द्र राजवंशी जस्तै हुनपर्ने हो ?’ एकजना जिम्मेवार नेताले जवाफ दिए–‘के गर्नुत कमरेड एकदिन श्रद्वाञ्जली दिन सकिएला, त्यो भन्दा बढी केही गर्न सकिदैन । ’
ति नेताको तुच्छ जवाफ सुनेर मैले मन मनैले घृणा गरें–थुईक्क कुत्ता हो, हिजो कयौंलाई पार्टीमा होम्यौं तर आज सबैलाई अलपत्र पारेर जिम्मेवारीबाट पन्छदै छौं ?’ म रुँदै निस्किएँ । मेरो मनमा अनेक तर्कनाहरु उब्जिए । मैले सोचें यदि पार्टीले कार्यकर्तालाई यसैगरी व्यवास्ता गर्दै जाने हो भने सबैको हालत कन्तविजोग हुनेछ । अब आफैं केही गर्न पर्छ । म हिजो सम्म सबै सम्पति पार्टी सम्झन्थें तर अब व्यक्तिगत जीवन पनि सोच्न पर्ने भयो । बुर्जुवा शिक्षा भनिएपनि म स्नातक गरेको कार्यकर्ता थिएँ । जेलमा रहँदा २०६० सालमै मैले स्नातक गर्ने अवसर पाएको थिएँ । त्यहि बुर्जुवा शिक्षा भनिएपनि पार्टी सरकारमा मगएपछि काम लाग्ने भयो । तर त्यो अवसर मैले कहिल्यै प्राप्त गरिन । न त लालहित नै बनें । कयौंपटक पार्टीबाट आश्वासनहरु आए तर अरुहरुलाई नै त्यो अवसर जान्थ्यों । यसप्रति मेरो गुनासो भने केही थिएन । बरु आफैं केही गर्नपर्छ भन्ने थियो । एकपटक मैले पार्टीमा हामी दुवैजना पूर्णकालिन भएको हुनाले श्रीमतिलाई जागिर गराईदिए म पार्टीको जिम्मेवारीमा निरन्तर रहन्छु भनेर प्रस्ताव राखेको थिएँ । तर कयौंलाई पार्टीले जागिरे गराएपनि मेरो परिवारलाई त्यो मौका भएन । मैले अब व्यक्तिगत काम गर्नको लागि विस्तारै पार्टीका जिम्मेवारीबाट हट्दै जाने निधो गरें । शिक्षण पेशा गर्ने, अन्य जागिर खाने वा आफैं कुनै व्यवसाय गर्ने ? यि तीन मध्ये शिक्षण पेशाको लागि म संग लाईसेन्स थिएन, जागिर खानको लागि कुनै पावर थिएन । यसकारण मेरो तेस्रो विकल्प थियो व्यवसाय । त्यो पनि पत्रकारिता पत्रकारिता पनि फरक पत्रकारिता । २०६६ सालमा हुनपर्छ मैले ‘कृषक सन्देश’ नामक कृषि पत्रिका दर्ता गरें । मसंग पत्रकारिताको खासै अनुभव थिएन । न त मसंग अन्य साथी नै । सिरिफ एउटा क्यामारा थियो । एक्लै भएपनि कृषक सन्देश निकाल्ने निकाल्ने गरें । पहिलोपटक निकाल्दा पक्कै केही पैसा संकलन हुनसक्थ्यो । विज्ञापन तथा शुभकामनाको लागि भनेर विभिन्न व्यवसायी मार्फत मैले कागजमा झण्डैं ५ लाखको हिसाब निकालें । यतिधेरै पैसा जम्मा हुने परिकल्पनाले म निकै पुलकित बनें । किनकी कसैले मलाई एकहजार पनि पैसा पत्याउँदैन्थ्यो ।
विज्ञापन तथा शुभकामना उठाउने शिलशिलामा पहिलो योजना क्रसर व्यवसायीमा जाने निधो गरें र मेलम्ची तिर लागें । मेलम्ची तथा ईन्द्रावती नदिमा सिपाघाट सम्म जति क्रसर थिए ति सबैकोमा पुगें तर एकदर्जन जति क्रसरमा पुग्दा कसैले एकरुपैंया पनि पैसा दिएन नत दिने आश्वासन नै दिए । म निकै निराश भएँ । अब मलाई जीवनप्रति कुनै आशा थिएन । १ बजे सम्म खाना खाएको थिइन, ईन्द्रावती नदिमा केही समय टोलाउँदा मलाई नदिमै डुबेर मर्ने ईच्छा जाग्यो । युद्वमा बमको धमका र दुस्मनको चरम यातानाले पनि नसकिएको जीवन नदिले आज निल्ने भयो । म आँखा चिम्लेर झ्याम्म नदिमा हाम फाँले । हिँउदको समय हुनाले ईन्द्रावती सानो थियो । न त डुबायो न त बगायो । एकछिन पछि पार लागें । शरिर पुरै भिजेको थियो, ढुङ्गामा बसेर एकछिन सुकाएँ । सिपाघाटबाट गाडी चढेर घर फर्किए । साँझमा पुग्दा अध्याँरो भएको थियो । उसैगरी सानो भुण्टेले बाबाले पापा ल्याईदिएको होला भन्दै झोला खोतल्यो । बाबाको झोला किताब र डायरीले मात्र भरिएका थिए । म निराश भएको देखेर आमाले सोध्नु भयो मैले केही उत्तर दिईन । भोलीपल्ट चौतारा पुगेर मैले आफैंलाई समिक्षा गरें । मैले के सोचे किन सफल हुन सकिन ? घण्टौं पछिको एकान्तबास पछि मैले एउटा निचोड निकाले । आफ्नो क्षमता र हैसियत भन्दा ठूलो सपना देख्दा मान्छे असफल हुन्छ । एकैचोटी लाखौं देखेर हुँदैन रुपैंयाबाट सुरुवात गर्न पर्छ ।’ जेल पर्दा दिनको २५ रुपैंया कमाएको सम्झें । ‘काम गर्दा ज्यादै महत्वकाँक्षा भएर होईन सानो कामबाट सुरुवात गर्न पर्छ ।’ यहि मान्यता राखेर मैले जिल्लाका प्रत्येक कुनकाप्चामा गएर २०० देखि विज्ञापन उठाउन थालें । ३ हजार सम्मको विज्ञापन दिने व्यक्ति मेरो लागि भगवान हुन्थ्यो । मेलम्चीका व्यवसायी जनलाल श्रेष्ठ, ईन्द्रमणी दाहाल मेरो सुरुका सबैभन्दा ठूलो विज्ञापन दिने (३ हजार) भगवान सरह थिए । यसरी कृषक सन्देश मार्फत २ महिनामा डेडलाखको विद्यापन उठाउन सफल भएँ । यो नै मेरो जीवनको सबैभन्दा ठूलो कमाई थियो र मलाई जीवनमा गतिलो उर्जा प्राप्त भयो र आज सम्म निरन्तरतामा टिक्न सफल भएको छु । ……..क्रमश ः
(‘युद्वका डोबहरु’ नामक संकलित रचनाहरुबाट)