सहिद सप्ताहको अवसरमा ठूलोसिरुवारीमा सरसफाई कार्यक्रम

फागुन १७ (२०७९) चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी माओवादी केन्द्र वडा कमिटिले सहिद सप्ताहको अवसरमा सरसफाई कार्यक्रम गरेको छ ।

सहिद सप्ताह सुरु भएको तेस्रो दिन वडाको जलकिनी घुम्ती देखि कोठडाँडा सम्म सरसफाई गरिएको माओवादी केन्द्र ठूलोसिरुवारीले जनाएको छ । वडा पार्टी सहित वडा कार्यालय समेत सहभागी भएको १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले सिन्धुज्वालालाई बताए । बुधबार बिहान ७ बजेबाट सुरु गरिएको सरसफाई कार्यक्रममा ठूलोसिरुवारीका झण्डै दुई दर्जन कार्यकर्ता सहभागी भई थालिएको सरसफाईमा सडकका दायाँ वाँया छरिएका प्लाष्टिकजन्य फोहोर संकलन गरि जलाईएको तथा सडकका किनारामा रोपिएको विरुवाको गोडमेल समेत गरिएको वडा पार्टी अध्यक्ष नारायणप्रसाद गौतमले जानकारी दिए । सहिद सप्ताहकै अवसरमा शुक्रबार श्रीछापमा सहिद परिवार भेटघाट तथा बनभोज कार्यक्रम आयोजना गरिएको समेत अध्यक्ष गौतमले जानकारी दिए ।

माओवादीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सम्पुर्ण सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ । नेकपा (माओवादी केन्द्र)ले देशैभर विभिन्न कार्यक्रम गरी सहिद सप्ताहको प्रथम दिन तथा सहिद दिलबहादुर रम्तेल स्मृति दिवस मनाएको छ । सहिद तथा वेपत्ता योद्धा परिवारसँग भेटघाट अन्तर्क्रिरया गर्ने, कोणसभा, जनसभा, संगठन विस्तार, भेला लगायतका कार्यक्रमसँगै सहिद सप्ताहलाई माओवादी केन्द्रले संघर्षको रुपमा मनाएको छ ।

जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात फागुन १४ गतेका दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।

जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । तत्कालिन नेकपा (माओवादी) ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । प्रथम सहिद रम्तेलसँगै जनयुद्धका सहिदहरुको सम्झनामा माओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएका छन् ।