सीप सिक्दै, रोजगार बन्दै ठूलोसिरुवारीका दलित समुदाय
दिनेश दुलाल
फागुन १६, चौतारा । बेरोजगार भएर गाउँका युवाहरु निरन्तर विदेश पलायन हुने क्रम जारी छ । आर्थिक रुपमा कमजोर तथा विपन्न अवस्थामा रहेका दलित समुदायमा यो समस्या ज्यादै छ । तर चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीका दलित समुदायमा भने नयाँ जागरण पैदा भएका छ ।
विकटोल, नेपाली टोल र रोक्का टोलगरी झण्डै ६ सय जनसंख्या दलित बस्ती रहेको ठूलोसिरुवारीका दलित समुदायमा पछिल्लोपटक कसैले गार्मेन्ट, कसैले सुधारिएको आरान मार्फत औजार तथा कसैले छालाको जुत्ता बनाउने सीप सिकेर आफूलाई आत्मनिर्भर बनाउने प्रयास थालेका छन् । पछिल्लोपटक यो अवसर रोक्का टोलका झण्डै एक दर्जन युवाहरुले पाएका छन् । उनीहरुले ३ महिने छाला जु्ता उत्पादन तालिम प्राप्त गरेका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको लगानीमा नगर उद्योग विकास शाखाको आयोजना तथा वडा नम्बर १३ ठूलोसिरुवारीको सक्रियता र समन्यमा थालिएको उक्त तालिम तीन महिना पुरा भएर तालिममा सहभागी प्रशिक्षार्थीहरु स्वरोजगार बन्ने अवस्थामा पुगेका हुन् । ३ महिने तालिमबाट आफूहरु स्वारोजगार बन्ने अवस्थामा पुगेको तालिममा सहभागी प्रशिक्षार्थी कृष्णगोपाल सार्कीले सिन्धुज्वालालाइ बताए । आफूले सिकेको सीप व्यवसायमा रुपान्तरण गर्दै अन्य युवाहरुलाई समेत आर्काषित गरिने उनले बताए । आफूरुले सिकेको सीप व्यवसाय थालेर आत्मनिर्भर बन्ने सहभागी कुष्णगोपालको जस्तै बेलबहादुर, सरोज र अनिताको पनि छ ।
तीन महिने तालिममा छालाका जुता, चप्पल पार्टी सुज, कलेज तथा स्कुलका विद्यार्थीहरुको लागि जुत्ता, जेन्स तथा लेडिजका आईटमहरू सम्बन्धी तालिम प्रदान गरिएको तालिमका प्रशिक्षक दिपक रोक्काले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा त्याहाँका ९ जनालाई तालिम दिएको हो । तीन महिना अघि सुरुवात गरिएको तालिमको उदघाटन चौतारा साँगाचोकगढी नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले गरेका थिए ।
वडाभरीका अधिकांश दलित युवाहरुलाई गाउँमै आत्मनिर्भर बनाउन ज्ुत्ता बनाउने तालिम जस्तै अन्य उपायहरुको खोजी गरिने वडा नम्बर १३ वडाअध्यक्ष रामप्रसाद गौतमले बताए ।