‘गुणस्तरीय शिक्षा प्रदान नगर्ने शिक्षकलाई कारवाही गर्नुपर्छ’–सांसद बस्नेत

दिनेश दुलाल
माघ २७, बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले सामुदायिक विद्यालयमा गुणस्तीय शिक्षा प्रदान नगर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।

बाह्रबिसे नगरपालिकाको चौथो बाह्रबिसे नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रिपति रनिङ सिल्ड छनौट प्रतियोगिता– २०७९ को उदघाटन गर्न बाह्रबिसे पुगेका सांसद बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त भनाई राखेका हुन् ।

उदघाटन पछिको मनतव्यलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका बस्नेतले बाह्रबिसे नगरपालिकामा शैक्षिक स्तर खस्कनुमा नगरपालिका, विद्यालय, अभिभावकको भूमिका जिम्मेवार रहेको बताए । सांसद बस्नेतले १२ कक्षा सम्म निशुल्क गर्ने बाह्रबिसे नगरपालिका देशकै पहिलो भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको प्रति चिन्ता जाहेर गरे । ‘गुणस्तरीय शिक्षा दिन कसैले कमजोरी गरे कारवाही गर्नुपर्छ’, पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका बस्नेतले भने । खेलकुद क्षेत्रको महत्वको चर्चा गर्दै सांसद बस्नेतले वुद्दि र बल भएन भने मान्छे निकम्मा हुने तर्क राखे । खेलकुद क्षेत्रलाई सिन्धुपाल्चोकमा मात्र नभई देशभरी उत्कष्ट बनाउन आफूले के गर्न सकिन्छ त्यो भूमिका निर्वाह गर्ने बचन समेत दिए ।

कार्यक्रमका सभाअध्यक्षता गरेका बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले बाह्रबिसे नगरभरीका विद्यालयलाई १२ कक्षा सम्म निशुल्क बनाउन सांसद बस्नेतकै सल्लाहमा सफल भएको बताए । शिक्षा क्षेत्रमा जतिपनि लगानी गर्न नगरपालिका तयार भएको बताउँदै नगर प्रमुख बस्नेतले शिक्षालाई आफ्नो कार्यकालमै गुणस्तरीय बनाई छाड्ने ठोकुवा गरे । नगरपालिकाले किसानमैत्री लोकप्रिय कार्यक्रम ल्याएको दावी प्रस्तुत गर्दै नगर प्रमुख बस्नेतले शिक्षा र खेलकुद क्षेत्रलाई संगसंगै विकास गरिने प्रतिवद्वता जनाए ।

त्यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले छोटो समयको तयारीमै चौथो बाह्रबिसे नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रिपति रनिङ सिल्ड छनौट प्रतियोगिता गराउन सफल भएको बताए । उक्त प्रतियोगिताले स्वास्थको लागि खेलकुद भन्ने नारालाई सार्थकता तुल्याएको धारणा राखे ।

बाह्रबिसे नगरपालिकाको आयोजना तथा बाह्रबिसे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा भएको उक्त प्रतियोगिता शुक्रबारबाट सुरूवात भएर शनिबार समापन हुनेछ ।

कार्यक्रमको व्यवस्थापकीय जिम्मा लिएका श्याम तामाङका अनुसार उक्त प्रतियोगितामा नगरका ९ वटा विद्यालय सहभागी भएका छन् ।
प्रतियोगितामा लङजम्प, हाईजम्प, त्रिपलजम्प, सटफुट, तेक्वान्दो र १०० देखि ४०० मिटर सम्मको रिले दौड लगाएत खेलहरु हुने नगर खेलकुद विकास शाखाले जनाएको छ । पहिलो दिनको औपचारिक कार्यक्रम बाह्रबिसे नगरपालिकाको कवर्ड हलमा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले खुल्ला चौरमा छेलो हानेर प्रतियोगिताको सुरुवात गराएका थिए ।