त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
दिनेश दुलाल
माघ २५, तौथली (सिन्धुपाल्चोक) । त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बुधबारबाट सुरुवात भएको छ । खेलकुद विकास समिति त्रिपुरा सुन्दरी गाउँपालिकाको आयोजनामा तौथलीमा भएको रनिङशिल्ड प्रतियोगिताको उदघाटन पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले गरेका हुन् ।
खेलकुद प्रतियोगिताको समुदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बस्नेतले खेलकुदले मान्छेलाई स्वास्थ्य र बलियो बनाउने हुँदा ग्रामिण भेग सम्म यसको महत्व बढ्न थालेको बताए । खेलकुदको गतिविधि निरन्तर गर्दा स्थानीय स्तरबाटै राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सकिने धारणा राख्दै सांसद बस्नेतले समाजमा लुकेर, छिपेर बसेका प्रतिभाहरु गलत लतमा नलागीगन राष्ट्रको झण्डा संसारभरी फैलाउन यहि माध्यामबाट सम्भव भएको बताए । पछिल्लो पटक खेलकुदको क्षेत्रमा सिन्धुपाल्चोक जिल्ला जुनसुकै विधामा पनि अगाढी बढेको उनको ठम्याई छ ।
औपचाकि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सांसद बस्नेतले शिलढुङ्गाबाट तौथली सम्मको सडक आफ्नै पहलमा ९ करोड बजेट हालेर ट्रयाक खोल्न लगाएको दावी गर्दै सोही सडकलाई ३१ करोड पैसा ल्याएर कालोपत्रे गरिएको समेत ठोकुवा गरे । आफू २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपनि १ नम्बर क्षेत्रमा पनि आवश्यक परे आफ्नो भूमिका निर्वाह गर्ने उनले उदघोष गरे ।
आफू सञ्चारमन्त्री हुँदा डाडडुङे डाँडोलाई फिल्म सिटिको रुपमा स्थापित गरेको दावी गर्दै त्रिपुरासुन्दरी गाउँपालिकालाई देशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने उनको भनाई छ ।
अर्को एक सन्दर्भमा सांसद बस्नेतले शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार तथा सित्तैमा पाउन पर्ने तर्क पेश गरे । सिन्धुपाल्चोकका बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकाले १२ कक्षा सम्म निशुल्क पढ्ने व्यवस्था गरिएको प्रति धन्यवाद व्यक्त गर्दै देशैभरी यो नियम लागु गर्न आफूले संसदमा आवाज उठाएको समेत दावी गरे ।
कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर १ (क) की प्रदेशसभा सदस्य मसिना खड्का (भण्डारी) ले शिक्षा र स्वास्थ तथा खेलकुदको लागि आफू बागममति प्रदेश सदस्य भएको नाताले कर्तव्य पूरा गर्ने बताउँदै खेलकुको लागि आवश्यक सहयोग गर्ने बचना वद्वता गरिन । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले जिल्लाका सबै स्थानीय तहहरुले खेलकुल क्षेत्रलाई विशेष महत्व दिएर अझ व्यवस्थित बनाउन पर्ने धारणा राखे ।
कार्यक्रमलाई त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले आफूले खेलकुद क्षेत्रलाई विशेष महत्व दिएको बताउँदै आगमी वर्षमा अझ परिस्कृत गरिने बताए । त्रिपुरासुन्दरी गाउँपालिकामा एक मिटर पनि कालोपत्रे हुन नसकेको सांसद बस्नेत समक्ष यथार्थ प्रस्तुत गर्दै पालिका अध्यक्ष बोहोराले सम्पूर्ण विकासको वाधक कच्ची सडक भएको बताए ।
दुईदिन सम्म हुने उक्त त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको लागि संघबाट आएको बजेटको अलवा पालिकाले समेत सहयोग गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयबहार वाईवाको भनाई छ ।
गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार जम्मा चार लाख बजेटमा उक्त प्रतियोगिता थालनी गरिएको हो ।
रनिङ, रिले, भलिबल र कराते चारवटा विधा अन्तर्गत विभन्न खेलकुदको आयोजना गरिएको उक्त प्रतियोगितामा पालिका भित्रका ७ वटा विद्यालयहरुबाट २ सय ५० खेलाडी सहभागी भएको जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिता बिहिबार सम्पन्न हुनेछ ।
कार्यक्रममा त्रिपुरासुन्दरी मावि लगाएत सहभागी विद्यालयका बालबालिकाहरुले साँस्कृतिक प्रस्तुती दिएका थिए ।