पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा ६ लाख ५७ हजार बराबारको अखाद्य सामान नष्ट
माघ १७, थाङपालधाप । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २ सय १२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले त्यसलाई जफत गरि नष्ट गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।
अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेका अनुसार उपाध्यक्ष सुनिता अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति बनाई बजारको अनुगमन गरिएको हो । उनका अनुसार बजार अनुगमनका क्रममा ३ लाख ३० हजार भन्दा धेरै मुल्य बराबरको पेय पदार्थ, चकलेट, चिजबल, मिठाई, चाउचाउ गरी ७३ हजार बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । त्यस्तै २ लाख ३६ हजार बराबरको तेल, चिउरा, चामल लगायतको सामाग्री गरि ६ लाख ५७ हजार मुल्य बराबरको मिति गुज्रेका अखाद्य वस्तु नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।