
सुकुटे पर्यटन प्रर्वद्वन गुरू योजनाका लागि प्रारम्भिक छलफलको सुरुवात

दिनेश दुलाल
माघ १७, सुकुटे । सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय हब बनाउने योजना अनुसार सुकुटे पर्यटन प्रर्वद्वन गुरू योजनाका लागि प्रारम्भिक छलफलको सुरुवात भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९, १०, ११ र १२ पर्ने सुकुटे क्षेत्रको पर्यटन प्रर्वद्वनका लागि यसअघि सुकुटेमै पहिलो चरणको छलफल भएको थियो । तीन साता अघि संघीय सांसद माधव सापकोटा ‘सुवोध’, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी लगाएत विभिन्न सरोकारवालारु संलग्न छलफलले सुकुटे पर्यटन प्रवद्वनको लागि गुरू योजना निर्माण गरी सुरुवात गर्ने निचोड निकालेको थियो । सोही अनुसार मंगलबार विभिन्न सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम गरिएको सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको उपस्थितिमा सुकुटेको भोटेकोशी रिसोर्टमा गरिएको अन्तरक्रिया कार्यक्रमले गुरुयोजनाको लागि आवश्यक पर्ने सन्दर्भ सामग्री तथा विषय बस्तुहरुको लागि सहभागिहरुको सुझाब संकलन गरिएको व्यवसायी श्रेष्ठले बताए ।
अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सापकोटाले सुकुटे पर्यटन विकासका लागि प्रचुर आधार र सम्भावना रहेको औंल्याउँदै अन्तिम लक्ष भनेको आम मान्छेलाई श्रममा सरिक गराएर रोजगार बनाउने रहेको बताए ।नगरले तत्काल बन्देउ देखि सुकुटे सम्म सरसफाई, सडक बत्ती, डम्पिङ साइड, सिसि क्यामारा, तरकारी संकलन केन्द्र लगाएतको काम सुरुवात गरिने समेत उनले जानकारी दिए । यति कामको लागि गुरु योजना कुरिरहनु नपर्ने तर्क राख्दै सापकोटाले डम्पिङ साईडको सबैभन्दा चुनौति रहेको औंल्याए ।
दूध, तरकारी लगाएत स्थानीय कृषि उपजको लागि संकलन केन्द्र स्थापना गरेर किसानको रोजीरोटीको व्यवस्था गरिने समेत सापकोटाले बताए । स्थानीयलाई पर्यटन सम्बन्धी सिपमुलक तालिम दिएर रोजगारीको व्यवस्था गर्न व्यवसायीलाई उनले आग्रह गरे ।
१२ नम्बर वडा अध्यक्ष दिपेन्द्र नेपालले पर्यटन क्षेत्रहरू तथा साँस्कृतिक सम्पदाहरू के–के हुन त्यसको खोजी गरिनु पर्ने तर्क पेश गरे ।
गुरु योजना निर्माणको जिम्मा पाएको मेनस्ट्रिम कन्सल्टटेन्ट एण्ड कम्पनी प्रालि कुपोन्डोल, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायी तथा सरोकारवालाहरुले गुरु योजनाको लागि आवश्यक बस्तुगत योजनाको बारेमा धारणा प्रस्तुत गरेका थिए ।
मेनस्ट्रिम कन्सल्टटेन्ट एण्ड कम्पनी प्रालिका डाईरेक्टर ईन्जिनएर भगवान कुँवरले पहिलो चरणमा डाटा संकलन, प्रतिनिधिमुलक छलफल गरिने बताए । एउटा ब्राउन्डिमा रहेर सुकुटे पर्यटन प्रवद्वनको लागि मास्टर प्लान गरिने समेत उनले बताए । सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले अक्कर देखि बन्देउ र ठोकर्पा, कदमबास सम्मलाई सिमाङक गर्नुपर्ने तर्क राखे ।
त्यस्तै होटल व्यवसायी कृष्ण सापकोटाले विश्वको ७ औ नम्बर पर्ने नदिको संरक्षण गर्न चुनौति रहेको बताउँदै सुकोशी, बलेफी र चौतारा साँगाचोकगढी नगरपालिकाले संयुक्त फोहोर व्यवस्थापन आवश्यक रहेको औंल्याए । अर्का व्यवसायी अन्जान खड्काले सडकमा बत्तीको व्यवस्था, सार्वजनिक शौचालयको व्यवस्थापन आवश्यकता रहेको औंल्याए । सुकुटे एडभान्चरका सञ्चालक गोविन्द लोहोनीले सुकुटे प्रर्वद्वनको लागि व्यवसायीहरुको योगदान रहेको बताउँदै स्थानीय सरकारले गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने जोड दिए ।
अन्तरक्रिया कार्यक्रम सभापति गणेश बिकले प्रर्यटन र प्रकृतिलाई कसरी जोड्न सकिन्छ यता तिर सुकुटे गुरूयोजनामा समेट्न आवश्यक रहेको औल्याए । गुरु योजना निर्माणका लागि चरणवद्व छलफल तथा अन्तरक्रिया निरन्तर रहने आयोजकको भनाई छ ।
स्मरण रहोस २०७६ फागुन १७ गते भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा सुकुटे महोत्सव गरिएको थियो । लगत्तै कोरोना माहामारीको कारण महोत्सवले उपलब्धी हाँसिल गर्न सकेन । होटल तथा पर्यटन व्यवसायीहरुले पुनः सुकुटे महोत्सव गर्ने गृहकार्य थालिएको बताएका छन् ।