भोटेकोशीको बगाममा पहिलो पटक टेलिकम सेवा पाउँदा स्थानीय छायो खुशी

१६ माघ, हिन्दी (सिन्धुपाल्चोक) । जिल्लाको भोटेकोशी गाउँपालिकाको बगाममा पहिलो पटक टेलिकम सेवा पाउँदा स्थानीयमा खुशीयाली छाएको छ ।
नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका वडा नं १ बगाममा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । गाउँपालिकाका अनुसार उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेवा विस्तार गरेको गाउँपालिकाले जनाएको छ ।

उक्त क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोशी अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । पहिले टावर नहुँदा दुःख पाएका नागरिकले टेलिकमको थ्रीजी सेवा एकसाथ सञ्चालनमा आएपछि भोटेकोशी गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते, तारतुङ, सेबुङ लगायत आसपासका गाउँमा झण्डै १ सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीयको भनाई छ ।

स्थानीयका अनुसार यसअघि फोन मार्फत कुराकानी गर्न १ घण्टाको पैदल मार्फत लिस्तीमा पुग्नु पर्ने बाध्यता यहाँका स्थानीयलाई थियो । यस सेवाले फोन सम्पर्कका लागी टाढा जानुपर्ने बाध्यता हटेको छ । टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा डेटामार्फत इन्टरनेट चलाउन सहज भएकोे छ ।

टावर निर्माणसँगै त्यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त थप सहज भएको स्थानीय तथा समाजसेवी दावा लामाको भनाई छ । शनिवार देखि बगाममा बनेको नेपाल टेलीकमको टावर सञ्चालनमा आएपछि पहिलो पटक यस क्षेत्रका बासिन्दा टेलिफोन सेवासँग जोडिएका हुन् ।