हेलम्बुमा नेपालकै पहिलो टिचिङ सेन्टर स्थापना गरिदै, आईतबारबाट शुभराम्भ हुने

दिनेश दुलाल
पौष २३, किउल (सिन्धुपाल्चोक) । जिल्लाको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकामा टिचिङ सेन्टर स्थापना गर्ने भएको छ । पालिकाको शैक्षिक गुणस्तर विकासको लागि यो अवधारणा ल्याईएको बताएको गाउँपालिकाले आईतबारबाट टिचिङ सेन्टर शुभराम्भ गरिने जनाएको छ ।
शिक्षालाई बस्तुवादी, वैज्ञानिक र व्यवहारिक बनाउन यो अवधारणा ल्याईएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सिन्धुज्वालाई बताए । मोडेल विद्यालयको अवधारणा ल्याएर चर्चा कमाएको हेलम्बु गाउँपालिकाले पुनः टिचिङ सेन्टर बनाउने खवर सार्वजनिक भएसंगै थप चर्चा कमाएको छ । विद्यार्थीको वर्तमान आवश्यकता, ज्ञान, क्षमता र प्रविधिलाई संकेन्द्रित गर्ने योजना अनुसार टिचिङ सेन्टर स्थापना गर्ने प्रयास नेपालकै अन्य पालिका मध्येकै पहिलो भएको उनको दावी छ । उनका अनुसार याे प्राक्टिक्स नेपाललकाे अन्यत्र कतै छैन ।

टिचिङ सेन्टर बनाउने याेजनामा असाध्यै शुष्म ढंगबाट खटिएका गाउँपालिका अध्यक्ष शेर्पाले यस्तो अवधारणा ल्याएका हुन् । यो मोडेलमा विद्यार्थीहरुले आवश्यकता अनुसारको विषय छनौट गर्न सक्ने अध्यक्ष शेर्पाको भनाई छ । उसोत उनले शिक्षक जनशक्तिलाई संकेन्द्रित गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय मर्जको अवधारणा ल्याएर सुरुवात गरेका थिए । अहिले यो दोस्रो उनको प्रयास हो । गाउँसभाबाट नीतिगत रुपमै टिचिङ सेन्टर स्थापना गर्ने योजना पास गरिएको उनले बताए ।

उक्त योजनाको आर्थिक व्यवस्थापनका लागि शिर्षकमा नछुट्याईएको तर नीति तथा कार्यक्रममा राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युदराज भट्टाईले बताए । उनका अनुसार १२ कक्षामा शिक्षकहरुको दरबन्दी अभाव हुँदा प्रत्येक प्लस टु विद्यालयमा दुई–दुईजना मात्र शिक्षक दरबन्दी रहेका छन् । जसले पढाउन समस्या भएपछि पालिका भित्रका १२ कक्षा सम्मका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई एउटा केन्द्र पर्ने ठाउँमा जम्मा गरेर तीनवटै विद्यालयबाट दुई–दुईजना शिक्षकहरुले टिचिङ सेन्टरमा पढाउन आउने उनले बताए ।

विद्यार्थीका चाहना अनुसारका विषयहरु थप गरेर आवश्यकता अनुसार अरु शिक्षकहरु पालिकाले थपिदिनुपर्ने उनले स्पष्ट पारे । उनका अनुसार अहिले तत्काललाई ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पसलाई टिचिङ सेन्टर तोकिएको छ । टिचिङ सेन्टर आईतबारबाट सुरुवात गर्ने पालिकाको योजना रहेको उनले सुनाए । उनका अनुसार तत्कालको लागि पहिलो आर्थिक वर्षमा सरस्वती माध्यामिक विद्यालय ग्याल्थुमका विद्यार्थीहरुलाई व्यवस्थापन सहित पढाउन सुरुवात गरिनेछ । विद्यार्थीको भर्ना तथा परिक्षा फारम देखि अन्य व्यवस्थापन भने सम्बन्धित विद्यालयले गर्ने गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वनाथ भण्डारीले बताए ।

टिचिङ सेन्टरमा १२ कक्षा हेर्नेगरी ईन्चार्ज तोक्ने योजना रहेको उनले सुनाए । उनका अनुसार पहिलो वर्ष एउटा मात्रै विद्यालयका विद्यार्थी सहभागी भएपनि दोस्रो बर्ष थप दुई विद्यालयका विद्यार्थी समेत सहभागी हुनेछन् । जसमा सरस्वती मावि ग्याल्थुम, महेन्द्र मावि ईचोक र भूमेश्वरी मावि किउल सहभागी रहनेछन् ।

टाढाबाट आउने विद्यार्थीको लागि स्कुल बस समेत व्यवस्था गर्ने योजनामा लागेको पालिकाले टिचिङ सेन्टरको लागि आवश्यक पर्ने बजेटको लागि भने गाउँसभाबाट स्विकृत गराउन पर्ने शिक्षा शाखा प्रमुख भण्डारीले बताए । उनका अनुसार कम्युटर लगाएत विद्यार्थीको ऐच्छिक विषयको लागि शिक्षक बाहिरबाट झिकाउने योजनामा पालिका रहेको छ ।