सबै वडामा वर्थिङ सेन्टर स्थापना गर्ने पहिलो पालिका भएको पाँचपोखरी थाङपाल गाउँपालिकाको दावी

पुस २१, थाङपालधाप । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आफ्नो अर्धवार्षिक समिक्षा बैठक सम्पन्न गरेको छ । बिहिबार गाउँपालिकाको सभाहलमा गरिएको बैठकमा गाउँपालिका अध्यक्ष टासी लामाले आफ्नो पालिकाको ८ वटै वडामा बर्थिङ सेन्टर स्थापना भएको बताए । सबै वडामा वर्थिङ सेन्टर स्थापना गर्ने सिन्धुपाल्चोक जिल्लाको पहिलो गाउँपालिका भएको उनले दावी गरे । ‘सिन्धुपाल्चोक जिल्लाका कुनैपनि गाउँपालिकाका सबै वडामा वर्थिङ सेन्टर छैन, यो हाम्रै पालिकामा मात्र छ’, अध्यक्ष लामाले भने । समिक्षा वैठकमा अध्यक्ष लामाले समृद्ध पाँचपोखरी निमार्णका लागि कर्मचारी र जनप्रतिनिधि एक भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

वडा र पालिकाका कर्मचारीमा समेत एकरुपता हुनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिले निति बनाउने र कर्मचारीबाट त्यसको कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । पाँचपोखरीमा विकासले गति लिएको दावी गर्दै अध्यक्ष लामाले स्वास्थ्य, शिक्षा, खानेपानि, सिंचाई लगायतको क्षेत्रमा उल्लेख्य काम गरेको बताए ।

बहु पहिचान सहितको गाउँपालिका भवन निमार्ण, विद्यालय पुर्ननिमार्ण, ६ वटा वडा कार्यालय निमार्ण, सुचना केन्द्र, सुविधा सम्पन्न स्वास्थ्य चौकी निमार्णलाई गाउँपालिकाको विकासको उदाहरणको रुपमा प्रस्तुत गरे । अध्यक्ष लामाले अबको ५ बर्ष विकासले गति लिने बताउँदै कर्मचारी र जनप्रतिनिधिले जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए । वैठकमा वडा अध्यक्ष, सचिव, विभिन्न शाखाका शाखा प्रमुख तथा अन्य जिम्मेवार कर्मचारी, गाउँपालिका मातहत रहेर काम गरिरहेका सरकारी तथा गैह्र सरकरी संस्था लगायतले आ–आफ्नो कार्यालयको कार्यप्रगती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष सुनिता अभिकारी, प्रमुख पशासकिय अधिकृत लक्ष्मण कुइँकेल लगायतको उपस्थिति रहेको थियो ।