नगरप्रमुख तामाङद्वारा हैबुङ स्वास्थ्य चौकी भवनको शिलान्यास
पुस २१, मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर ३ हैबुङमा स्वास्थ्यचौकी भवन बन्ने भएको छ । नगरप्रमुख आइतमान तामाङले बिहिबार मेलम्ची नगरपालिका वडा नम्बर ३ हैबुङ स्थित हैबुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । स्वास्थ्य चौकी भवनको शिल्यान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर तामाङले नगरपालिकाको १३ वटै वडामा स्वास्थ्य चौकी नभएका वडामा आफ्नो कार्यकाल भित्र पुरा गर्ने प्रतिवद्वता जनाए । सबै वडामा एक एक वर्थिङ सेन्टर राखिने समेत उनले बताए ।
कार्यक्रममा प्रमुख तामाङ सहित उपप्रमुख उमा प्रधान, वडाध्यक्ष कुमार बन्जारा, निवर्तमान वडाध्यक्ष बसन्त गुरुङ लगायतको उपस्थितीमा उक्त स्वास्थ्य चौकी भवनको शिलान्यास भएको हो । कुल ८ करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का होम निर्माण÷इफ्फाता जे.भि. कम्पनीले पाएको छ ।
पाँच सैयाको सो स्वास्थ्य चौकी भवन १८ महिना भित्र सम्पन्न गरी हस्तान्तरण गर्ने ठेकेदार कुमार गुभाजुले प्रतिवद्वता जनाएका छन् । सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण संगै सामान्य बिरामी पर्दा समेत अन्यत्र जानुपर्ने समस्याको अब छिट्टै अन्त्य हुने प्रमुख तामाङले बताए । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनामा निर्माण हुन लागेका यस अस्पताललाई नगर अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको नगरप्रमुख तामाङले जानकारी दिए ।