भिमेश्वरी माविको ६१ ओै बार्षिक उत्सव सम्पन्न
रबिन दनुवार
१९ पौष, भिमटार (सिन्धुपाल्चोक) । इन्द्रावती गाउपालिका वडा नम्बर १२ भिमटारमा रहेको भिमेश्वरी माध्यमिक विद्यालयको ६१ औ जन्म जयन्ती समारोह कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद मोहन बहादुर बस्नेतले कार्यक्रमको उदघाटन गरेका थिए ।
बस्नेतले शुभकामना मन्तव्य राख्दै स्थानीय सरकारसँग समन्वय गरि प्रविधिक शिक्षाको निम्ति पहल गर्ने प्रतिवद्वता जनाए ।
बस्नेतले विगतमा वंशलाल तामाङको नेतृत्वको स्थानीय सरकारले शिक्षा क्षेत्रमा गरेको कार्यलाई प्रशंसा गर्दै बर्तमान सरकारले पनि रचनात्मक कामगर्ने अपेक्षा रहेको बताए ।
विद्यालयको आगनमा धुलो धेरै उड्ने भएकोले स्वास्थ्यमा असर पर्ने हुँदा समाधानका लागि आफ्नो सांसद पुर्वाधार बिकास कोषबाट बजेट बिनियोजन गरि आगनमा ढुंगा चापिदिने प्रतिबद्धता समेत जनाए । बिगतमा आफुले कोभिडको समयमा तथा बाढीबाट क्षति भएको समयमा गरेको योगदान स्मरण गराउदै बस्नेतले विद्यालयको शिक्षाको निम्ति पनि आफू निरन्तर लागि पर्ने उदघोष गरे ।
भिमेश्वरी माविका शिक्षक अभिभावक संघका अध्यक्ष प्रमोद न्यौपानेले विद्यालयको माध्यमिक तहको शिक्षक दरबन्दी एउटा मात्रै रहेको जानकारी गराउदै थप दरबन्दीको आवश्यकता रहेको बताए । न्यौपानेले पछिल्लो समय बिद्यार्थीको शिक्षा प्रतिको चासो घट्दै गएको भन्दै अभिभावकहरुले आफ्नो बालबच्चाहरुको शिक्षाको लागि अलि बढि चासो दिनुपर्नेमा जोड दिए ।
बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले विद्यालयमा प्राविधिक शिक्षाको आवश्यकता रहेको बताए ।जनप्रतिनिधिहरुबाट सिमान्तकृत दनुवार, माझीहरुको आत्मसम्मान, बिकास ,परिवर्तन र शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आ– आफ्नो ठाउँबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा रहेको श्रेष्ठले बताए ।
गाउपालिका महासंघका निवर्तमान महासचिव एवम् निवर्तमान इन्द्रावती गाउपालिका अध्यक्ष बंशलाल तामाङले बिद्यालयहरुमा विशेषगरी प्राविधिक शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए । प्राविधिक शिक्षा जीवन उपयोगी व्यावहारिक शिक्षा रहेकोले प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको आवश्यकता रहेको तामाङले बताए ।
बर्तमान संविधानले माध्यमिक तहसम्मको विद्यालय संचालन तथा व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहेको स्मरण गराउदै पालिका प्रमुखको अनुपस्थित गैरजिम्मेवार भएको भन्दै तामाङले खेद प्रकट गरे । स्थानीय सरकारले पालिका मातहतका विद्यालयहरुको गतिविधि बारे जिम्मेवारी पूर्वक चासो लिनु पर्नेमा तामाङले जोड दिए । कार्यक्रममा गाउँकार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, राजनीतिक दलहरु लगायत विभिन्न सरोकारवालाहरुको बाक्लो उपस्थित रहेको थियोे ।