
विद्यालयले राम्रो नतिजा नल्याए शिक्षकको तलब रोक्का गरिने हेलम्बुका अध्यक्ष शेर्पाले दिए चेतावनी(भिडियो सहित)

दिनेश दुलाल
पुस २०, ग्याल्थुम (सिन्धुपाल्चोक) । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु भित्रका विद्यालयहरुले राम्रो नतिजा नल्याए शिक्षकको तलब नै रोक्का गरिदिने चेतावनी दिएका छन् ।
सरस्वति माध्यामिक विद्यालय हेलम्बु–४ को बुधबार भएको ६० औं वार्षिक उत्सब तथा २९ औं अविभावक भेला कार्यक्रमको प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष शेर्पाले सम्बोधनका क्रममा उक्त चेतावनी दिएका हुन् ।
गाउँपालिका शिक्षामा जति पनि लगानी गर्न तयार रहेको बताउँदै अध्यक्ष शेर्पाले भने,‘शिक्षामा जति पनि लगानी गर्न तयार छु तर बालुवामा पानी हाले जस्तो नहोस ।’ पालिकाभरिकै जेठो तथा नमुना विद्यालयको रुपमा चिनिएको सरस्वती माध्यामिक विद्यालयले ल्याएको एसईईको नतिजा हेरेर आफू चिन्तित भएको बताउँदै अध्यक्ष शेर्पाले भने, ‘यति ठूलो भव्य विद्यालयमा ‘ए प्लस’ एउटा मात्रै विद्यार्थीले ल्याउँदा म कसरी चित्त बुझाउँ ?’ शिक्षक प्रति प्रतिप्रश्न गर्दै शेर्पाले भने । हेलम्बु गाउँपालिकाले शिक्षकहरूकाे लागि प्रयाप्त सुविधा दिएकाे र राम्राे शिक्षकलाई पुरस्कृत गरिने समेत उल्लेख गर्दै अध्यक्ष शेर्पाले शैक्षिक सुधार गर्न विद्यालयललाई सुझाब दिए । अभिभावकहरूले अाफ्ना छोराछोरीको पढाई के कस्तो छ भनेर एकपटक पनि विद्यालयमा नआउने अविभावकहरुलाई समेत बेलाबखतमा विद्यालय आउन उनले आग्रह गरे ।
पछिल्लो पटक सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किएको प्रति चिन्ता गर्दै शेर्पाले भने, ‘अहिलेकै अवस्थामा विद्यालय रहिरहने हो भने साम्दायिक विद्यालयमा पढ्ने गरीबका छोराछोरी मात्र हुन्छन् त्यो पनि पछि बन्द हुन्छ ।’
शिक्षकले २० वर्ष अघिको अनुभव मात्र नदर्शाउन सुझाब दिंदै पालिका अध्यक्ष शेर्पाले शिकाई उपलब्धीलाई हतियार जस्तै साँध लगाउन सुझाए । सोही कार्यक्रममा शेर्पाले केही वर्षभित्रै हेलम्बु गाउँपालिकामा प्राविधिक तथा विषयगत पढाई सञ्चालन गरेर शिक्षा क्षेत्रमा आमुल परिवर्तन गरिने समेत प्रतिवद्वता जनाए ।
वार्षिक उत्सव कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, छिमेकी विद्यालयका प्रध्यानध्यापक, अविभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयका बालबालिकाहरुले विविध साँँस्कृतिक प्रस्तुत गरेका थिए । विद्यालयका प्रध्यानध्यापक कुमारप्रसाद घोरासैनीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्मरण रहाेस हेलम्बु गाउँपालिकाले पालिका भित्र रहेका विद्यालयलाई दिवा खाजा, शिक्षकहरूलाई विशेष सुविधा तथा लगानी गरेर शिक्षालाई पहिलाे प्राथमिकतामा राखेकाे छ ।
जिल्लाकै पहिलाे माेडेल विद्यालय बनाउने याेजना हेल्मबु गाउँपालिकाले ल्याएकाे हाे ।