बाह्रबिसे नगरपालिकाद्वारा हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान
दिनेश दुलाल
पुस १८, बाह्रबिसे (सिन्धुपाल्चोक) । यतिबेला कृषि क्षेत्र पनि प्रविधिमैत्री बन्दै गईरहेको छ । आधुनिक प्रविधिको विकासले परम्परारुपमा प्रयोग हुँदै आईरहेको कृषि औजारहरु समेत लोप हुने अवस्थामा पुगेका छन् । किसानले हलगोरु पालेर खेत जोत्ने परम्परा समेत ट्याक्टरमा परिणत भएको छ । ट्याक्टर किन्न समेत स्थानीय तहहरुले किसानलाई अनुदान दिईरहेको बेलामा सिन्धुपाल्चोकको एक स्थानीय तहले भने हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान दिने भएको छ ।
बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप दश हजार रुपैयाँ अनुदान दिने भएको हो । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले हलगोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको बाह्रबिसे नगरपालिकामा मेयर बालकृष्ण बस्नेतले सिन्धुज्वालालाई बताए । ‘ट्याक्टरमा किसनालाई प्रोत्साहन गरेजस्तै नगरभित्र हलगोरु पाल्ने किसानलाई दशहजार दिने निर्णय गरेका छौं’, मेयर बस्नेतले भने । उनका अनुसार उक्त अनुदानको लागि नगरपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको छ ।
यसअघि नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर लगायत कृषि औजार समेत प्रदान गर्दै आएको जनाएको छ । औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको मेयर बस्नेतको भनाई छ । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याईएको मेयर बस्नेतको कथन छ ।
खेतीयोग्य जमिन बाँझो राख्न नदिने उद्देश्य अनुसार यो कार्यक्रम प्रभावकारी हुने मेयर बस्नेतले बताए । उनका अनुसार बाह्रबिसे नगरपालिकाले आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम अन्तर्गत किसानलाई मल, बिउ, विषाधि लगाएतमा समेत अनुदान दिने गरेको छ । आउँदो बर्ष बाह्रबिसे नगरपालिकामा कोल्डस्टोर (चिस्यानकेन्द्र) निर्माण गरेर किसानलाई आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिने उनले जानकारी दिए ।