पर्यटन क्षेत्रको विकासका लागि सांसद सापकोटाको प्रयास, जुगल हिमाल खुला गर्न अनुरोध
पुस १३, चौतारा । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुवोध’ ले आफू निर्वाचित भएलगत्तै समग्र पर्यटन क्षेत्रको विकासको लागि पहलकदमी सुरुवात गरेका छन् ।
जुग हिमशृंखलाका विभिन्न हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने र त्यस क्षेत्रको समग्र पर्यटन विकासका लागि भन्दै मंगलबार सांसद सापकोटा सहित विभिन्न सरोकारवालाहरुको वैठकले जुगल हिमाल खुला गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य सापकोटा सहित जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागको महानिर्देशक होमप्रसाद लुईटेल, गृह मन्त्रालयका उप सचिव, प्रमुख नापी अधिकृत लगायतको उपस्थितिमा मंगलबार बैठक गरी आरोहण खुल्ला गर्न पर्यटन विभाग मर्फत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए ।
उनका अनुसार जुगल हिमाश्रृखलाका विभिन्न उचाईको हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने सम्बन्धमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको नेतृत्वमा भएको अध्ययन प्रतिवेदन माथि छलफल भएको थियो । वैठकद्वारा गरिएको निर्णयमा भनिएको छ –‘प्रतिवेदनमा समावेश गरिएका हिमालहरु पहुँचका दृष्टिले राजधानीबाट नजिक रहेको, पर्वतारोहणका लागि सहज पदमार्गको पहिचान भएको र मुलुकको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने देखिएकोले आरोहणका लागि खुला गर्न पर्यटन विभाग मार्फत नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।’
बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीहरुको नामाकरण गर्न समेत अनुरोध गरेको छ । जसअनुसार जुगल १ (६५९१ मि.), जुगल २ (६५१८ मि.), जुगल ३ (६१८४ मि.) र जुगल ४ (६१२० मि.) नामाकरण गर्न अनुरोध गर्ने वैठकद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।
स्मरण रहोस यसअघि ६ हजार १ सय ५१ मिटर उचाइको जुगल हिमशृंखला अन्तर्गतको ग्याल्जेन पिक दुईपटक आरोहण भईसकेको छ । पहिलो पटक २०७५ चैत २६ मा सफल आरोहण गरिएको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण भएको थियो । त्यस्तै दोस्रो पटक २०७७ कार्तिकमा आरोहण गरिएको थियो ।
२०७५ मा तत्कालिन सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सासंद एव पूर्व सभामुख अग्निप्रसाद सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र अधिकारी बीच सहमति भई सिन्धुपाल्चोकको जुगल हिमालमा आरोहण खुला गर्न मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लगिएको थियो । जुगल हिमालमा आरोहण खुला गर्नका लागि बागमति प्रदेश सरकारले अनुमति दिएपनि संघीय सरकारको मन्त्रिपरिषदले निर्णय गर्न सकेको थिएन ।
सासंद सापकोटा र मन्त्री अधिकारीबीच भएको भेटमा पर्यटकीय रुपमा चर्चित नेपेमाशाललाई जुगल हिमालको आधार शिवीरको रुपमा विकास गर्न पुर्वाधार विकासको लागि वजेट विनियोजन गर्न सहमति भएपनि तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको हेलीकप्टेर दुर्घटनामा निधन भएसंगै यो विषय ओझेल परेको थियो । अहिले माधव सापकोटा सांसद भएसंगै उनको यो दोस्रो प्रयास हो ।