नगरपालिका संघको उपाध्यक्षमा चौताराका मेयर सापकोटा
पौष ८, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा नगरपालिका संघको उपाध्यक्षमा चयन भएका छन् । ४३ सदस्यीय कार्यसमिति बनेको संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिका प्रमुख भीम ढुङ्गाना सर्वहिमत चयन भएका छन् । सापकोटा माओवादी केन्द्र र ढुङ्गाना कांग्रेसबाट चयन भएका हुन् । त्यसैगरी संघको महासचिवमा नेकपा (एमाले) बाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमाहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता ढंगोल चयन भएकी छिन् ।
त्यसैगरी कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी चुवाङ नगरपालिकाकी प्रमुख बिमला राई कोषाध्यक्ष र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिका प्रमुख एकीकृत समाजवादीकी मिना लामा चयन भएकी छिन् ।
देशभरबाट दलहरुले नगरपालिका प्रमुख तथा उपप्रमुख जितेको संख्याको आधारमा पद विभाजन गरिएको हो । देशभरीका २ सय ९३ नगरपालिका जननिर्वाचित प्रतिनिधिबाट पाँचवर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।