नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको २८औँ साधारण सभा सम्पन्न,३ सम्मानीत र ७ पुरस्कृत

निर्मल बस्नेत
पौष ३, सुकुटे । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको २८औँ साधारण सभा सम्पन्न भएको छ । साधरणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याए वापत ३ जना पत्रकार सम्मानीत र ७ जना पुरस्कृत भएका छन् ।

सम्मानीत र पुरस्कृत हुनेहरुमा सिन्धु पत्रकारिता सेवा सम्मानबाट माधव नेपाल , स्व. इश्वरीमान–राम स्मृति पत्रकारिता सम्मानबाट विष्णु न्यौपाने र रामकुमार केसी सम्मानीत भएका हुन् । त्यस्तै कार्यक्रममा कञ्चन–ज्ञानेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट डम्बर रसिक भारती, स्व. पवित्रा घिमिरे रेडियो पत्रकारिता पुरस्कारबाट टीका दाहाल, स्व. दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट कला अनुरागी, स्व. नानीराम नेपाल स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गा दुलाल, सर्वपक्ष पत्रकारिता पुरस्कारबाट सुन्दर शिरीष, रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट विमल नेपाल र जुगल नवोदित पत्रकारिता पुरस्कारबाट कमला पाख्रिन पुरस्कृत भएका छन् । पुरस्कृतहरुलाई नगद ५ हजार ५ सय ५५ रुपैंयासहित सम्मापत्र प्रदान गरिएको थियो ।

सोहि अवसरमा ब्ल्याक हर्स इन्टरप्राईजेजका सञ्चालक बेदबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत राजकुमार, इन्जिनियर गम्भीरलाल श्रेष्ठ, सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्र थापा, सुकुटे भ्याली रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, समाजसेवी नकुल नेपाल र जुगल बोर्डिङ स्कुलका प्रिन्सिपल ओमप्रकाश उप्रेतीलाई समेत सम्मान गरिएको थियो ।
साधारण सभालाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले पेशागत मर्यादामा आँच आउने कुनै क्रियाकलाप गर्नमा जोड दिएका थिए । बस्नेतले पत्रकारिता क्षेत्रमा पनि विकृति भित्रिएको भन्दै उनले स्वतन्त्र, स्वस्थ, स्वच्छ पत्रकार बन्नुपर्नेमा प्रेरित गरे । ‘पत्रकार सदैव समाजको ऐना बन्नुपर्दछ’, उनले भने– ‘पत्रकारलाई सहि मार्गमा डोहोर्याउन पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भूमिका महत्वपूर्ण हुन्छ ।’

अध्यक्ष बस्नेतको साना लगानीका सञ्चारमाध्यमलाई राज्यले प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड थियो । स्वयम् पत्रकारहरुले पनि अनलाइन, युट्युब जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गरी जनताको पक्षमा सूचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताए ।

साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाई, सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिना, प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, प्रदेश महासचिव कृष्ण सारु मगर, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत राजकुमार, नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल नेपाल, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द पराजुली नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष ऋषिराम पौड्याल लगायतले सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला शाखाका सचिवको उद्घोषण र अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको बन्दसत्रमा प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई सर्वसहमतीले पारित गरेको छ ।