‘नयाँ राजदुत आउन साथ तातोपानी नाका पूर्ण रुपमा खुल्छ’– प्रचण्ड

निर्मल बस्नेत
पौष ७, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले चीनसँगको व्यापारिक नाका तातोपानी नाका पूर्ण रुपमा खुलाउने काम प्राथमिकतामा रहेको बताएका छन् ।

नाका खुलाउने सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग कुराकानी गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्यसंघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) लगाएत टोली ।

सिन्धुपाल्चोक क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्वको टोलि बुधबार खुमलटारमा पुगेर नाका खुलाउने सन्दर्भमा ज्ञापनपत्र दिएसंगै प्रचण्डले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए । नेपालका लागि चिनिया नयाँ राजदुत आउनसाथ तातोपानी नाका पूर्ण रुपमा खुल्ने उनले दावी गरेका छन् । ‘यस अघिको राजदुतसंग पनि मैले कुरा गरिसकेको छु अब नयाँ राजदुत आउन साथ नाका पूर्ण रुपमा खुल्छ’, प्रचण्डले भने ।

आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि चिनियाँ राष्ट्रपति सि जिन फिङ्सँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै उनले तातोपानी नेपालीहरुको व्यवसाय र नेपालको व्यापारिक दृष्टिबाट महत्वपूर्ण रहेको स्पष्ट गरे ।

चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै प्रचण्डले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए । चिनियाँ राजदूति हाउ यान्छीसँगको विदाई भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको प्रचण्डको भनाई थियो । भूकम्प पछिको पुनर्निर्माण भइसकेको र ड्राइपर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो सुचारु गर्नु पर्नेमा जोडदिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने बताए । नयाँ राजदूत आएपछि दुवैतिर आवत जावत खुला हुने विश्वास व्यक्त गरे ।

जुरे पहिरो, भूपम्प वा अन्य सन्दर्भमा आफूले सिन्धुपाल्चोकसँग जोडिन पाएको चर्चा गर्दै प्रचण्डले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढि संवदनशील रहेको र समस्या समाधान गर्ने बताए । ‘म बेइजिङ्मा पनि कुरा गर्छु, नयाँ राजदूत आएपछि पनि कुरा गर्छु, सबै खालका रेस्ट्रिक्सन हटाइदिन पर्यो भन्छु’ उनले टोलिसँग प्रतिवद्धता व्यक्त गरे ।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाल– चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा संचालन र अरनिको राजमार्गको स्तोरन्नतिका लागि अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गरिएको जानकारी दिए । उनीसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री, अमृता नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार), नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लीका अध्यक्ष अर्जुन सापकोटा, नेपाल हिमालय सिमापार वाणिज्य संघका प्रतिनिधि प्रचण्ड निवास पुगेका थिए । भेटमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमाररु) ले नाका क्षेत्रका जनताको आर्थिक जीवन स्तर निकै कमजोर हुँदै गएको र हजारौं मजदुरहरुको दयनीय अवस्था नाजुक बन्दै गएको भन्दै प्रचण्डको ध्यानकर्षण गराएका थिए ।

स्मरण रहोस २०७२ सालको विनाशकारी भूकम्प यता नाका बन्द रहेको छ । यस भन्दा अघि पनि आंशिक रुपमा नाका संचालनमा आएको थियो । पूर्ण रुपमा संचालन र अरनिको राजमार्गको स्तोरन्नतिका लागि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य, बागमती प्रदेशसभा सदस्यहरु नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सिमापार वाणिज्य संघका प्रतिनिधिहरुको संयुक्त टोलिले पुर्व प्रधानमन्त्री प्रचण्ड समक्ष संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।