आहा, यस्तो पो विकास ! हेलम्बुमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

पौष २, किउल (सिन्धुपाल्चोक) । हेर्दै लोभ लाग्दो, सिनित्त परेका सडक टाढैबाट मनमोहक र आकर्षक देखिन्छ । कमादारहरु खुब मिहिनेतका साथ सडकलाई आकर्षक बनाईरहेका छन् । ढुंगा कुँदेर विछ्याईएको यो सडक कुनै शहरको दृश्य भने होईन यो त हेलम्बु गाउँपालिकाको एक दुर्गम बस्तीमा बनाईएको सडकको नमुना हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ढुँगा कुँदेर सडक सोलिङ गर्दै हेलम्बुका स्थानीय कामदार –तस्बिर ः देवराज सुवेदी

हेलम्बु गाउँपालिकाले स्थानीय तहमा सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पालिकाभरी यो अभियान चलाईएको छ । अनुत्पादक बनेको जताततै पाईने ढुंगालाई सदुयोगमा ल्याएर सडकलाई स्तरीय सडक बनाउने हेलम्बु गाउँपालिकाको उद्देश्य प्रधानमन्त्री रोजगार कार्यक्रमले पुरा गर्ने भएको छ । निकै प्रभावकारी बन्दै गएको यो कार्यक्रम हेलम्बु गाउँपालिकाका विभिन्न वडामा सञ्चालनमा ल्याईएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । स्थानीय बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुने उक्त कार्यक्रमले रोजगारीको सिर्जना मात्र नगरी सडक निर्माणलाई गुणस्तर बनाउन अवसरको रुपमा लिएको उनको भनाई छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका बजेटमा नाली सोहोर्ने, सामान्य सडक मर्मत सम्भार गर्ने, सफाइ गर्ने भन्ने प्रचलनलाई हेलम्बु गाउँपालिकाले नयाँपनमा रुपन्तरण गरेको जानकारहरु बताउँछन् । हेलम्बुले यो कार्यक्रमलाई दीर्घकालीन कार्यको रुपमा विकास गर्न चाहेको गाउँपालिका अध्यक्ष शेर्पाको कथन छ । उनका अनुसार उक्त कार्यक्रमका लागि यो आर्थिक वर्षमा रु ६१ लाख ४८ हजार बजेट पालिकाले छुट्याएको छ ।

हेलम्बु गाउँपालिकाभित्रका बस्ती–बस्तीका सडक सोलिङ गरेपछि बाह्रै महिना यातायात सञ्चालन हुने गरी अधिकांश सडक प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्तरोन्नति भएको हेलम्बुका रोजगार संयोजक शुभेक्षा आचार्यले बताइन् । उनका अनुसार हेलम्बु–५ को बोल्दे सडक र गिजेडाँडा हँुदै माने जाने गोरेटो बाटो, वडा नं २ को गणेशेबगर सडक सोलिङ र वडा नं ४ को मङसाम टोल गोरेटो बाटो, सहबारी टोल गोरेटो बाटो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस वर्ष मर्मत तथा स्तोरन्नति गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारसँगै आफ्नो गाउँको विकास भएको स्थानीय बताउँछन् ।